बुटवल । भदौ २३–२४ गते जेनजीले गरेको आन्दोलनका क्रममा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका केन्द्र र जिल्लास्तरीय कार्यालय तथा पार्टी नेताहरूका घरहरू आन्दोलनकारीको निशानामा परेका छन्। विशेषगरी सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि भौतिक आक्रमण भएको छ। बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा घरका सामग्री चोरी र आगजनीसमेत भएको जानकारी केन्द्रीय कार्यालयले दिएको छ।
कांग्रेसको केन्द्रीय कार्यालय पनि आंशिक रूपमा ध्वस्त भएको छ। अधिकांश जिल्लाका कार्यालय, प्रदेश कार्यालय र नेताहरूका घरहरू आन्दोलनकारीको निशानामा परेका छन्। अहिलेसम्म क–कसको क्षति भएको वा कति भएको भन्ने तथ्यांक प्राप्त भएको छैन। आन्दोलनपछि प्रभावित नेताहरू घर जोहो गर्ने कार्यमा व्यस्त छन्।
जेनजीले भ्रष्टाचारको अन्त्य, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिनको लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरेका थिए। यस्तै उनीहरूको माग युवाको चाहनाअनुसारको शासक र शासन व्यवस्था पनि थियो।
आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेकी छन्। कार्कीले नियुक्ति पाएलगत्तै प्रतिनिधिसभा विघटन र आगामी फागुन २१ गते निर्वाचनको सिफारिस राष्ट्रपति पौडेललाई पठाएकी छन्।
तर कांग्रेसले संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै कार्यसम्पादन समिति बैठक बसेर निर्णय लिएको छ। सहमहामन्त्री महालक्ष्मी उपाध्यायका अनुसार पार्टीको नेतृत्व र निर्वाचनबारे केन्द्रीय कार्यसमितिमा बहसपछि मात्रै निर्णय हुनेछ। सहमहामन्त्री महेन्द्र यादवले भने, “बदलिँदो परिस्थिति र पार्टीको आगामी कार्यदिशा बारे छलफल नभएको छ। बैठक बसेर व्यापक छलफलपछि आधिकारिक धारणा तय हुनेछ।”
केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नयाँ सम्भावनाहरू प्रकट भइरहेकाले कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने आवश्यक रहेको बताएका छन्। उनी दसैँपछि देशव्यापी भ्रमण गर्दै पार्टीका सदस्यसँग छलफल गर्ने योजना बनाएका छन्।
सदस्य प्रतिमा गौतमले वैधानिक बाटोबाट कार्यवाहक बनाएर पार्टी अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेकी छन्। उनले निर्वाचनअघि विशेष अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने सम्भावनाको पक्षमा रहेकी बताइन्।
यस्तै, युवा नेता पूर्वसांसद रञ्जित कर्णले सबै पदाधिकारीले राजीनामा दिँदै सुशासन दिन नसकेकोमा माफी माग्नुपर्ने बताएका छन्। उपसभापति पूर्णबहादुर खड्काले पनि राजनैतिक घटनाक्रममा एकताबद्ध भएर स्पष्ट धारणाहरू तय गर्ने ६ बुँदे वक्तव्य जारी गर्दै कांग्रेसको प्रतिबद्धता व्यक्त गरेका छन्।
यसरी, जेनजी आन्दोलनपछि नेपाली कांग्रेसले नेतृत्व, संगठन र वैधानिक प्रक्रियामा सुधार गर्दै आगामी निर्वाचनका लागि तयारी गर्नुपर्ने चुनौतीको सामना गरिरहेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
