काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार सम्हालेसँगै नयाँ कार्यशैली अपनाएका छन्। मंगलबारदेखि उनले मन्त्रालयमै खानेबस्ने व्यवस्था मिलाएर काम सुरु गरेका हुन्।
शिक्षा मन्त्रालयका उपसचिव केदार कोइरालाका अनुसार मन्त्री पुनको आग्रहअनुसार केशरमहलस्थित कार्यालय परिसरमै बसोबास र खानपानको व्यवस्था गरिएको हो। कोइरालाले भने, “मन्त्रीज्यूले मन्त्रालयमै बसेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ। सोहीअनुसार आजदेखि व्यवस्था गरिएको छ।”
सिंहदरबारस्थित मन्त्रालय भवनमा जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षति पुगेपछि हाल मन्त्रालयलाई अस्थायी रूपमा केशरमहलमा स्थानान्तरण गरिएको हो।
वैज्ञानिक समिति गठनको निर्णय
पदभार ग्रहण गर्दै मन्त्री पुनले विज्ञान मन्त्रालयको प्रभावकारी सञ्चालनमा जोड दिए। सम्भावनायुक्त क्षेत्र भएर पनि अपेक्षित प्रगति नहुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै उनले वैज्ञानिक अनुसन्धान र खोजलाई प्रवर्द्धन गर्न विशेष समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।
उपसचिव कोइरालाका अनुसार मन्त्री पुनको यो कदमले विज्ञान र प्रविधिको क्षेत्रमा ठोस प्रगति हुने अपेक्षा गरिएको छ।
‘जे सुकै गर’ भन्ने भनाइको प्रष्टिकरण
सञ्चारकर्मीले युवाहरूलाई दिएको ‘जे सुकै गर’ भन्ने सन्देशबारे प्रश्न गर्दा मन्त्री पुनले प्रष्ट पारे। उनले भने, “मैले सुत्नु वा निष्क्रिय बस्नु भन्न खोजेको होइन। आफ्नो विवेक प्रयोग गरेर, अरूको झोला नबोकी, आफ्नै, समाज वा देशको हितमा काम गर्नु भन्ने मेरो आशय हो।”
शिक्षा ऐनबारे स्पष्ट योजना
मन्त्री पुनले शिक्षा ऐनको सुधार र समीक्षालाई प्राथमिकता दिने घोषणा गरे। उनले विज्ञहरूको टोली गठन गरी सुझावका आधारमा निर्णय गर्ने बताएका छन्।
कोइरालाका अनुसार मन्त्री पुनले ऐनको समीक्षा र सुधारमार्फत शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन योजना बनाएका छन्।
नयाँ अपेक्षा
मन्त्री पुनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसपछि उनले तत्कालै मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्। उनको नयाँ कार्यशैली र निर्णयहरूले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा नयाँ गति र आशा ल्याउने अपेक्षा गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
