१२ असोज, काठमाडौं ।
जेन–जी आन्दोलनका केही युवा प्रतिनिधिहरुले सरकारसँग औपचारिक वार्ता गर्न १२ सदस्यीय वार्ता टोली घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्की लगायतका सरकारी प्रतिनिधिसँग वार्ता गरी आफ्ना माग सम्बोधन गराउने उद्देश्यले टोली गठन गरिएको जानकारी दिएका हुन्।
वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बू, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार, दीपकजंग अधिकारी र अभिषेक श्रेष्ठ रहेका छन्।
वार्ता टोलीका सदस्य प्रवेश दाहालले थप तीन जना सहिद परिवार र घाइते परिवारबाट प्रतिनिधि समावेश गरिने बताए। “अहिलेसम्म १२ सदस्यीय टोली फाइनल भइसकेको छ, अब चार जना सहिद र घाइते परिवारका प्रतिनिधि लिएर नाम घोषणा गर्नेछौं,” उनले भने।
दाहालले वर्तमान परिस्थितिलाई न्याय दिन र राष्ट्रपतिसँग प्रत्यक्ष वार्ता गरेर सहमति गर्ने लक्ष्यले टोली गठन गरिएको स्पष्ट पारे। उनका अनुसार, यो टोली कुनै पनि राजनीतिक दल वा व्यक्ति विशेषको प्रभावमा नभई स्वतन्त्र रूपमा जेन–जी युवाहरुको एकता र चाहनाबाट बनेको हो।
पत्रकार सम्मेलनमा प्रतिनिधिहरुले आफूहरुको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। साथै, मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन्।
युवाहरुले मिराज ढुंगाना, पुरुषोतम यादव लगायतका प्रतिनिधिहरुसँग सम्वाद गरेर निक्र्यौलमा पुगेको र सुदन गुरुङसहित विभिन्न व्यक्तिहरुको सुझाव लिएर अघि बढिरहेको जानकारी समेत दिएका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
