राजु विके, बुटवल ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठिरहेका आवाजप्रति आफ्नो अडान स्पष्ट पार्दै कमिटीगत आदेश मात्र मान्ने बताएका छन् । बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफू फेसबुक वा बाह्य दबाबबाट होइन, पार्टीको आधिकारिक संरचनाबाट आउने निर्णयअनुसार मात्र अघि बढ्ने बताए।
ओलीले भने, “यो कमिटीले भन्नुपर्छ, यसले भनेका बेला अँध्यारो मुख लाउने वाला छैन, यस कमिटीको आदेशमा जुनसुकै मान्न तयार छु।” उनले सामाजिक सञ्जालमार्फत नेतृत्व छाड्न आग्रह गर्ने आफ्नै पार्टीका केही नेताहरूको व्यवहारप्रति असन्तुष्टि जनाउँदै भने, “केही सुरवीरहरूले फेसबुकमा लेख्छन्— ओलीले अब जाऊन्, म त्यस्ता कुरा सुन्ने पक्षमा छैन।”
तर ओलीको “फेसबुकको नसुन्ने, केवल केन्द्रीय कमिटीको आदेश मान्ने” भनाइले नेतृत्वको विवेकबारे नयाँ प्रश्न खडा गरेको देखिन्छ। राजनीतिक विश्लेषकहरूका अनुसार, पार्टीमा सबै विवेकशून्य छैनन् — धेरै नेताहरूले उचित र अनुचित के हो भन्ने स्पष्ट रूपमा बुझ्न सक्छन्। यस्तो अवस्थामा विवेकको भूमिकालाई बेवास्ता गर्दै केवल आदेशपालनमा सीमित रहनु स्वेच्छाचारी झल्कोको रूपमा व्याख्या गर्न सकिन्छ। यथार्थमा फेसबुक नै त हो जेन जेडहरुलाई क्रान्तिको पथमा अग्रसर बनाएको । फेसबुके संचारले आन्दोलनको स्वरुप धारण गर्याे । ३० घण्टाभित्र सत्ता परिवर्तन पनि फेसबुकले नै हो गराएको । फेसबुकमा अभिव्यक्त भएका कार्यकर्ता वा जनताको विचारलाई विचार नमान्ने प्रवृत्ति अहँकारभावको उदाहरण हो ।
वास्तवमा, कुनै पनि जिम्मेवार नेतृत्वले आफ्नो विवेकलाई सबैभन्दा नजिकको सल्लाहकारका रूपमा स्वीकार गर्न जान्नु पर्दछ। विवेकले मात्र व्यक्तिलाई सफल र असल मानव बनाउँछ, र असल मानव नै सफल नेतृत्वको भूमिकामा अव्वल हुन सक्छ।
ओलीको हालको भनाइले पार्टीभित्र आत्मसमीक्षाको आवश्यकता झल्काउँछ — जहाँ अनुशासन र विवेकबीचको सन्तुलन नै नेतृत्वको परिपक्वताको मापन बन्नेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
