लोकसारथि संवाददाता, काठमाडौं ।
नेपाली कांग्रेसमा नेतृत्व र दिशाबारे नयाँ बहस सुरु भएको छ। देशभरका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गर्न माग गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन्।
कांग्रेस नेता गुरु घिमिरेको नेतृत्वमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाइएको हो। उनले १४औं महाधिवेशनका कुल प्रतिनिधि संख्याको करिब ५३ प्रतिशतले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेको जानकारी दिए।
नेता घिमिरेले हालको राजनीतिक र आन्तरिक परिस्थितिमा कांग्रेसलाई नयाँ गति र दिशा दिन विशेष महाधिवेशन आवश्यक भएको बताए। उनका अनुसार, यो पहल पार्टीभित्र विवाद वा विद्रोहका लागि नभई, स्वर्गीय नेता सुवर्णशम्शेर राणा लगायतका पुराना नेताहरूले देखाएको असल लोकतान्त्रिक अभ्यासलाई पुनर्जीवित गर्ने उद्देश्यले गरिएको हो।
“विशेष अवस्थामा विशेष महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको अधिकार हो,” घिमिरेले भने, “हामी पार्टीको पुनर्संरचना र नीतिगत स्पष्टताका लागि यो माग अघि सारेका हौं।”
जेन–जी आन्दोलनपछि विकसित परिस्थितिले पार्टीभित्र नेतृत्वमा आमूल परिवर्तनको आवश्यकता महसुस गराइएको भन्दै कांग्रेसका नेताहरूले देशभर हस्ताक्षर अभियान सञ्चालन गरेका थिए।
यसबीच, पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि नियमित समयमा महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशनमा जाने पक्षमा रहेको बताइन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यो पहलले कांग्रेसभित्र नेतृत्व परिवर्तन र संगठन पुनःउत्थानका लागि नयाँ अध्याय सुरु गर्ने संकेत गरेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
