logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

जेनजी आन्दोलनपछि एमालेभित्र खैलाबैला : अध्यक्ष ओलीमाथि राजीनामाको दबाब, पूर्वराष्ट्रपति भण्डारीको सदस्यता खुलाउन माग

जेनजी आन्दोलनपछि एमालेभित्र खैलाबैला : अध्यक्ष ओलीमाथि राजीनामाको दबाब, पूर्वराष्ट्रपति भण्डारीको सदस्यता खुलाउन माग


  • बिहिबार, असोज ३० २०८२
  • 650
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    जेनजी आन्दोलनपछिका घटनाक्रमले नेकपा एमालेभित्र ठूलो हलचल ल्याएको छ। पार्टी अनुशासनका कठोर नियमका लागि चिनिने अध्यक्ष केपी शर्मा ओलीको बोली नै अहिले पार्टीभित्र कमजोर सुनिन थालेको छ। उनले चेतावनी दिए पनि केन्द्रीय सदस्यहरूले खुलेर नेतृत्व परिवर्तन र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खुलाउन दबाब दिइरहेका छन्।

    एमाले केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा नेताहरूबीच कटु घर्षण र आत्म–समीक्षा देखिएको छ। बैठकमा सहभागी थुप्रै केन्द्रीय सदस्यहरूले जेनजी आन्दोलनलाई केवल “विद्रोह” नभई “पार्टी नेतृत्व र सरकारको कमजोरीको परिणाम” भन्दै आलोचना गरे।

    ओलीमाथि दबाब, महाधिवेशनको प्रस्ताव पनि संशयमा

    स्रोतका अनुसार सचिवालय बैठकमै ओलीमाथि राजीनामाको दबाब बढेपछि उनले आगामी मंसिर अन्तिम साता महाधिवेशन गर्ने विशेष प्रस्ताव अघि सारेका थिए। तर धेरै सदस्यहरूले त्यो प्रस्तावलाई “फेरि अध्यक्ष बन्ने दाउ” भन्दै अस्वीकार गरेका छन्।

    केन्द्रीय सदस्य विद्या भट्टराई ले भनिन्,

    “सामाजिक न्यायमा हाम्रो ध्यान नपुग्दा यो अवस्था आएको हो, त्यतिबेला सरकार र पार्टी नेतृत्व कहाँ चुके?”

    त्यस्तै, युवराज बास्कोटा ले नेतृत्वले जेनजी पुस्ताका मुद्दा सम्बोधन गर्न ढिलाइ गरेको आरोप लगाए। उनका अनुसार,

    “जेनजीहरू हाम्रो निर्णायक भोट बैंक हुन्, तिनलाई भड्काउने होइन, बुझ्नुपर्ने हो।”

    विद्यादेवी भण्डारीको सदस्यता खुलाउन र सम्मानजनक पुनरागमनको माग

    पार्टीमा बृहत एकताको आवश्यकता औंल्याउँदै धेरै सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय बनाउन माग गरे। पेम्बा लामाले भने,

    “अन्तरपार्टी लोकतन्त्र कमजोर हुँदा जनसंगठनको भूमिका हराउँदै गएको छ।”

    त्यस्तै, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, र सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट ले समेत ओलीले राजीनामा दिनुपर्ने धारणा राखे।

    ‘नेतृत्व अब अभिभावक बन्नुपर्छ’

    केन्द्रीय सदस्य रामलाल साह ले भने,

    “नेतृत्वको कला भनेको उत्तराधिकारी तयार गर्नु हो। अब अध्यक्ष ओलीले अभिभावक बनेर बस्नु उपयुक्त हुन्छ।”

    रचना खड्काले पनि ओलीले अब “राष्ट्रका मार्गदर्शक” को भूमिका लिनुपर्ने बताइन्।

    पार्टीभित्र अनुसन्धान र आत्मसमीक्षाको माग

    परशुराम अधिकारीले भदौ २४ को जेनजी आन्दोलनमा पार्टी कार्यकर्ताको संलग्नता भएको दाबी गर्दै त्यसबारे गहिरो अनुसन्धान गर्नुपर्ने बताए। उनले भण्डारीको सदस्यता नवीकरण गर्न पनि जोड दिए।

    पूर्वमहान्यायाधिवक्ता र केन्द्रीय सदस्य रमेश बडाल ले प्रतिनिधिसभा पुनर्स्थापना हुने ठोकुवा गर्दै भने,

    “अघिल्ला नजिरकै आधारमा संसद् पुनर्स्थापना हुन्छ।”

    ओलीको पक्षमा केही नेताहरू पनि उभिए

    केन्द्रीय सदस्य सूर्य ढकाल ले भने ओलीमाथि अनावश्यक प्रहार भइरहेको भन्दै उनको बचाउ गरे।

    “राष्ट्रवादी शक्तिहरूको नेतृत्व ओलीले गर्नुपर्छ, गल्ती सिंगो कमिटीको हो,” उनले भने।

    त्यस्तै हरदेव जोशी ले ओलीले राष्ट्रहितमा साहसिक कदम उठाएको र त्यसकै कारण उनीमाथि आन्तरिक तथा बाह्य आक्रमण भइरहेको बताए।

    गोविन्द थापाले भने अमेरिकी पत्रिका न्यूयोर्क टाइम्स को हवाला दिँदै भदौ २४ को आगजनीमा म्याग्नेसियम र सोडियमजस्ता घातक पदार्थ प्रयोग भएको दाबी गर्दै षड्यन्त्रको चेतावनी दिए।

    बैठकको निष्कर्ष : संसद् पुनर्स्थापना नै एकमात्र बाटो

    प्रचार विभाग प्रमुख राजेन्द्र गौतम का अनुसार,

    “दुई दिनको बैठकमा १८४ सदस्यले धारणा राखे, निष्कर्ष संसद् पुनर्स्थापना नै एकमात्र बाटो हो भन्नेमा पुगेको छ।”

    उनका अनुसार, एमालेले अहिले निर्वाचन विरोध नगरेको तर सरकारलाई तत्काल वातावरण बनाउन आग्रह गरेको छ।

    गौरबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले काम गर्न नसक्ने भएकाले नयाँ आयोग गठनको माग पनि उठेको गौतमले जानकारी दिए। उनले अन्त्यमा भने,

    “एमालेको नेतृत्वबारे अन्तिम निर्णय अब महाधिवेशनले नै गर्छ, अहिले अनुमान गर्नुको अर्थ छैन।”

    एमालेभित्र अहिले “स्व–समीक्षा र सत्ता समीकरणको संघर्ष” एकैसाथ चलिरहेको छ। एकातिर ओलीमाथि राजीनामाको दबाब बढ्दो छ भने अर्कोतर्फ उनका समर्थकहरू “राष्ट्रवादी नेतृत्वको रक्षा” का लागि लामबद्ध छन्।
    पार्टीभित्रको यो द्वन्द्वले जेनजी आन्दोलनपछि एमालेको भविष्य राजनीतिक रूपमा निर्णायक मोडमा पुगेको स्पष्ट देखाएको छ।

    प्रकाशित : बिहिबार, ३० असोज २०८२ , ०७:३६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend