logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

म्यामोग्राफी मेसिन खरिद अनियमितता : तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा

म्यामोग्राफी मेसिन खरिद अनियमितता : तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा


  • आइतबार, कार्तिक २ २०८२
  • 910
    SHARES

    काठमाडौं । स्वास्थ्य सेवा विभागमार्फत म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता र मिलेमतोमार्फत भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    म्यामोग्राफी मेसिन (Mammography Machine) भन्नाले स्तन (breast) को एक्स-रे स्क्यान गर्ने विशेष चिकित्सा उपकरण हो।

    यो मेसिन मुख्यतः स्तनको भित्रि संरचना देख्न, थुनिएको गाँठो (lump), ट्युमर वा क्यान्सरको प्रारम्भिक अवस्था पत्ता लगाउन प्रयोग गरिन्छ।

    अख्तियारका अनुसार विभागले ‘Procurement of Mammography Machine’ शीर्षकमा भएको खरिद प्रक्रियामा ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लि. सँग मिलेमतो गरी लागत अनुमानदेखि भुक्तानीसम्मका सबै चरणमा अनियमितता गरेको प्रमाण फेला परेको हो।

    आयोगको अनुसन्धानले देखाएको छ कि सम्झौता बमोजिम सम्पूर्ण सामग्री नआउँदै नै गलत Post Shipment Inspection Report, Acceptance Letter र झुट्टा बिल बिजक तयार गरी रु.13 करोड 37 लाख 83 हजार को भुक्तानी गरिएको थियो। सामग्री नआउँदै रकम भुक्तानी भएको पुष्टि भएको आयोगले जनाएको छ।

    अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उक्त खरिदमा करिब रु.14 करोड 6 लाख 85 हजार 500 बराबरको सरकारी हानि भएको छ। यो रकम बराबरको जरिवाना र कैद सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

    आरोपपत्रमा तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासँगै तत्कालीन निर्देशक डा. श्रवण कुमार थापा, डा. विवेक कुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसिया, प्रमुख लेखा नियन्त्रक भुवन प्रसाद काफ्ले, कानुन अधिकृत सिता घिमिरे, बायोमेडिकल इन्जिनियरहरू आशिष चौहान र पध्मा मिश्र लगायत १४ जनालाई प्रतिवादी बनाइएको छ।

    आयोगले स्वास्थ्य सेवा विभागले लागत अनुमान अस्वाभाविक रूपमा बढाएको, सार्वजनिक खरिद ऐन र नियमावली उल्लंघन गरी ठेक्का छनोट गरेको र सरकारी सम्पत्तिलाई हानि पुर्‍याउने उद्देश्यले योजनाबद्ध रूपमा मिलेमतो गरेको निष्कर्ष निकालेको छ।

    अख्तियारका अनुसार यो मुद्दा सार्वजनिक धन दुरुपयोगको गम्भीर उदाहरण भएको र आगामी दिनमा यस्ता अनियमिततामा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने अभियान निरन्तर रहने जनाएको छ।

    प्रकाशित : आइतबार, २ कार्तिक २०८२ , ०७:०८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend