logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

जेनजी आन्दोलनपछि कर्णाली सरकारद्वारा बजेटमा व्यापक कटौतीको तयारी

जेनजी आन्दोलनपछि कर्णाली सरकारद्वारा बजेटमा व्यापक कटौतीको तयारी


  • आइतबार, कार्तिक २ २०८२
  • 507
    SHARES

    लोकसारथि संवाददाता, सुर्खेत ।

    कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा व्यापक कटौती गर्ने तयारी गरेको छ। गत भदौमा भएको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त सरकारी संरचनाहरूको पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन सरकारले खर्च कटौतीको योजना अघि सारेको हो।

    अर्थसचिव यज्ञ पुरीका अनुसार बजेट कटौतीका सम्बन्धमा आन्तरिक रूपमा तयारी भइरहेको छ। उनका अनुसार तिहारपछि खर्च कटौतीसम्बन्धी प्रतिवेदन तयार भई पारित गरिनेछ र त्यसअनुसार कार्यान्वयन हुनेछ।

    मुख्यमन्त्री यामलाल कँडेलले दुई पटक सचिवहरूसँग बैठक बसी मन्त्रालयहरूलाई कुन–कुन शीर्षकमा खर्च कटौती गर्न सकिन्छ भन्ने प्रस्ताव तयार गर्न निर्देशन दिइसकेका छन्। तर अहिलेसम्म कर्मचारीतन्त्रले स्पष्ट कार्ययोजना पेस गर्न सकेको छैन।

    अर्थसचिव पुरीले अर्थमन्त्री राजीवविक्रम शाह अस्वस्थ भएकाले प्रक्रिया केही ढिलो भएको बताए। “हाम्रो तयारी छ, तर अर्थमन्त्रीज्यू अस्वस्थ भएकाले बैठक बस्न सकेको छैन,” उनले भने, “अब तिहारलगत्तै निर्णय हुनेछ।”

    उनका अनुसार अन्य प्रदेशहरू — लुम्बिनी, कोशी र बागमती — मा घाटा बजेटका कारण असार १५ गतेअघि नै खाता बन्द हुने अवस्था आउन सक्ने देखिएको छ। यद्यपि, कर्णालीमा घाटा बजेट नभए पनि चालु खर्चमा करिब रु. २ अर्ब बराबर कटौती गर्ने अनुमान गरिएको छ।

    कर्णाली सरकारले चालु आर्थिक वर्षका लागि रु. ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको थियो। जसमा चालुतर्फ रु. ७ अर्ब ७९ करोड ९१ लाख र पुँजीगततर्फ रु. १९ अर्ब ९८ करोड २७ लाख विनियोजन गरिएको थियो।

    अर्थसचिव पुरीले भने, “२ अर्बभन्दा बढी नै घट्छ होला, तर अहिले नै निश्चित भन्न सकिँदैन। अन्तिम फाइल बनेपछि स्पष्ट हुनेछ।”

    सरकारका अनुसार पुँजीगतभन्दा चालु प्रकृतिका धेरै कार्यक्रमहरू कटौती गरिने सम्भावना छ। यसले बजेट कार्यान्वयनमा पनि सहजता ल्याउने विश्वास गरिएको छ।

    गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण प्रदेश सरकारले ठुलो आर्थिक क्षति व्यहोर्नुपरेको थियो। सरकारी तथ्यांकअनुसार आन्दोलनका कारण प्रदेश सरकारलाई रु. ७ करोड ८१ लाख ५० हजार १५६ रुपैयाँ ३५ पैसा बराबरको क्षति पुगेको छ।

    सबैभन्दा धेरै क्षति प्रदेशसभाको भवनमा भएको थियो, जहाँ आन्दोलनकारीहरूले सम्पूर्ण संरचनामा तोडफोड र आगजनी गरेका थिए। त्यस्तै, प्रदेश लेखा नियन्त्रकको कार्यालय, मुख्यमन्त्री र कृषि मन्त्रीको सरकारी निवाससहितका संरचनामा पनि ठूलो क्षति पुगेको थियो।

    प्रकाशित : आइतबार, २ कार्तिक २०८२ , ०७:३६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend