logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

गायक बाबुल गिरी आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ

गायक बाबुल गिरी आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ


  • शुक्रबार, कार्तिक ७ २०८२
  • 663
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गिरीलाई शुक्रबार बिहान पक्राउ गरिएको हो।

    गिरीमाथि गम्भीर आरोप त्यसपछि लागेको हो जब गायिका नितु पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पुष्टि गरिएको थियो। पौडेलले गत कात्तिक १ गते अनामनगरस्थित स्टुडियोमा पेट्रोल छर्की आत्मदाह प्रयास गरेकी थिइन्। त्यसपछि उनलाई गम्भीर अवस्थामै प्रहरीले उद्धार गरी कीर्तिपुर बर्न अस्पताल पुर्‍याएको थियो।

    प्रहरीका अनुसार घटनाको समयमा बाबुल गिरी पनि सोही स्टुडियोमा उपस्थित थिए र आगो निभाउने क्रममा सामान्य घाइते भएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा गिरी र पौडेलबीच झन्डै नौ वर्षदेखि प्रेम सम्बन्ध रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

    गायिका पौडेलको मृत्युपछि उनका दाजु गणेश पौडेलले कर्तव्य ज्यान (हत्या) र आत्महत्या दुरुत्साहन दुवै मुद्दामा जाहेरी दिएका छन्।
    प्रहरीले बाबुल गिरीलाई पक्राउ गरी विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

     

    यसबीच, कलाकारिता क्षेत्रमा यस घटनाले मानसिक स्वास्थ्य, सम्बन्धमा हिंसा र महिलाको असुरक्षाबारे पुनः गम्भीर प्रश्न उठाएको छ।
    पौडेलको निधनले नेपाली संगीत क्षेत्र स्तब्ध भएको छ भने उनका प्रशंसकहरूले न्यायको माग गर्दै सामाजिक सञ्जालहरूमा अभियान सुरु गरेका छन्।

    प्रकाशित : शुक्रबार, ७ कार्तिक २०८२ , ०७:१४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend