logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

अप्टोमेट्रिक लाइसेन्स परीक्षामा शतप्रतिशत अनुत्तीर्ण: विद्यार्थीको आरोप– ‘प्रश्नपत्रमै त्रुटि’

अप्टोमेट्रिक लाइसेन्स परीक्षामा शतप्रतिशत अनुत्तीर्ण: विद्यार्थीको आरोप– ‘प्रश्नपत्रमै त्रुटि’


  • शुक्रबार, कार्तिक ७ २०८२
  • 624
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    नेपाल हेल्थ प्रोफेसनल काउन्सिल (एनएचपीसी) द्वारा लिइने अप्टोमेट्रिक (दृष्टि विशेषज्ञ) लाइसेन्स परीक्षामा शतप्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको आरोप विद्यार्थीहरूले लगाएका छन्। उनीहरूले काउन्सिलको परीक्षा प्रणाली, प्रश्नपत्र निर्माण प्रक्रिया र उत्तरपुस्तिका परीक्षणमा गम्भीर त्रुटि भएको दाबी गरेका छन्।

    गत वर्ष ४ जना मात्र उत्तीर्ण भएका परीक्षामा यसपटक ८९ जना परीक्षार्थीमध्ये एकजनासमेत उत्तीर्ण हुन नसकेको विद्यार्थीहरूले बताएका छन्। उनीहरूका अनुसार अध्ययन सकेको चार वर्ष भइसके पनि परीक्षा प्रणालीकै कारण आफूहरूले लाइसेन्स पाउन नसकेको हो।

    “परीक्षा प्रणाली नै दोषपूर्ण छ” – विद्यार्थी प्रिति रौनियार

    विद्यार्थी प्रिति रौनियारले चार वर्षदेखि निरन्तर परीक्षा दिँदै आएको बताउँदै भनिन् –

    “आँखाको ब्लिकिङ दर सामान्यतया १५ देखि २० हुन्छ, तर प्रश्नमा विकल्प १०, १५ र २० राखिएको थियो। कम्प्युटरले कुन उत्तरलाई सही मानेको हो, हामीलाई थाहा छैन। यसरी अनिश्चित प्रश्नले कसरी नतिजा निर्धारण गर्छ?”

    उनका अनुसार काउन्सिलले तयार पारेका केही प्रश्नमा सही उत्तरका विकल्प नै नभएका छन्, र सेलेबस अनुसार अंकभारको अनुपात पनि मिलाइएको छैन। उनले थपिन् –

    “हाम्रो सेलेबसमा १४ वटा विषय छन्। केही विषयलाई १० प्रतिशत मात्रै अंकभार दिइएको छ, तर परीक्षामा एउटै विषयबाट ५० प्रतिशतसम्म प्रश्न आउँछ।”

    परीक्षा छोट्याएर शुल्क असुल्ने आरोप

    विद्यार्थीहरूले काउन्सिलमाथि चार महिनाको अन्तरालमा हुने परीक्षा दुई महिनामा घटाएर शुल्क असुल्ने र अनुत्तीर्ण दर बढाउने आरोप पनि लगाएका छन्। उनीहरूले अहिले सामाजिक सञ्जालमार्फत परीक्षा प्रणाली सुधारका लागि आन्दोलनको तयारी गरिरहेका छन्।

    काउन्सिलको जवाफ: “छठपछि छलफल गर्छौं”

    यस विषयमा एनएचपीसीका अध्यक्ष सुबोध कुमार शर्माले विद्यार्थीको गुनासो आफूहरूसम्म आइपुगेको स्वीकार गरेका छन्।
    उनले भने –

    “प्रश्नहरू र मोडेरेसन हामीसँग रहेका विज्ञहरूबाट तयार गराइन्छ। त्यसैले प्रणालीमा त्रुटि भएको भए, छठ पर्वपछि विस्तृत छलफल गरेर सत्य तथ्य सार्वजनिक गर्नेछौं।”

    प्रकाशित : शुक्रबार, ७ कार्तिक २०८२ , ०८:५४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend