logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

आगजनीले ध्वस्त सर्वोच्च अदालतको आईटी पूर्वाधार सञ्चालनमा, ४८ दिनपछि वेबसाइट पुनः सक्रिय

आगजनीले ध्वस्त सर्वोच्च अदालतको आईटी पूर्वाधार सञ्चालनमा, ४८ दिनपछि वेबसाइट पुनः सक्रिय


  • सोमबार, कार्तिक १० २०८२
  • 546
    SHARES

    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण बन्द भएको सर्वोच्च अदालतको सूचना प्रविधिसम्बन्धी प्रणाली ४८ दिनपछि पुनः सञ्चालनमा आएको छ ।

    रामशाहपथस्थित सर्वोच्च अदालतको भवनमा आन्दोलनकारीले आगजनी गर्दा सोही भवनमा रहेको डिजिटल पूर्वाधार पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । प्रणाली पुनः सञ्चालनमा आएसँगै सर्वोच्च अदालतको वेबसाइट पनि सक्रिय भएको छ ।

    रिकभरी साइटका रुपमा सर्वोच्चले हेटौँडामा समेत ब्याकअप प्रणाली विकास गरेको थियो । तर, त्यहाँ पनि आन्दोलनका क्रममा क्षति पुगेपछि सर्वोच्च अदालत डिजिटल रूपमा ‘ब्याकआउट’ भएको थियो । त्यस अवधिमा अदालतले बन्दीप्रत्यक्षीकरणसहितका केही रिट लिखित रूपमा मात्रै सञ्चालन गर्नुपरेको थियो ।

    सर्वोच्चका अनुसार सोमबारसम्म डिजिटल डेटा सफलतापूर्वक रिकभर भएकाले सूचना प्रणाली पूर्वाधार सञ्चालनमा आएको हो । मंगलबारदेखि अदालतले मुद्दासम्बन्धी विवरणहरू पुनः डिजिटल माध्यमबाट उपलब्ध गराउने तयारी थालेको छ ।

    वेबसाइट सञ्चालनमा आएसँगै अब अनलाइन मुद्दा दर्ता, पेसी सूची, फैसला भएका मुद्दाको पूर्णपाठ र प्रक्रियागत विवरण हेर्न सहज भएको सर्वोच्चले जनाएको छ । मुख्य सर्भर पुनःस्थापना भएपछि उच्च र जिल्ला अदालतका विवरणहरू पनि सहज रूपमा हेर्न सकिने भएको छ ।

    जेनजी आन्दोलनका क्रममा सर्वोच्चसँगै यातायात व्यवस्था विभागको सर्भर पनि आगजनी र तोडफोडका कारण क्षतिग्रस्त भएको थियो । सर्वोच्चको सर्भर पुनः सञ्चालनमा आए पनि विभागको सर्भर भने अझै सञ्चालनमा आउन सकेको छैन ।

    प्रकाशित : सोमबार, १० कार्तिक २०८२ , ०५:५९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend