logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

किष्ट अस्पताल रणभूमि जस्तो : सुत्केरीको मृत्युपछि आफन्तको आक्रोश, तोडफोड र अश्रुग्यास

किष्ट अस्पताल रणभूमि जस्तो : सुत्केरीको मृत्युपछि आफन्तको आक्रोश, तोडफोड र अश्रुग्यास


  • मंगलबार, कार्तिक ११ २०८२
  • 793
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    ललितपुरस्थित किष्ट मेडिकल कलेज सोमबार साँझ रणभूमि जस्तै बनेको छ। ३३ वर्षीया सुत्केरी मिनाश्री राईको मृत्युमा अस्पतालको लापरवाही भएको भन्दै आक्रोशित आफन्त र स्थानीयले अस्पताल परिसरमै प्रदर्शन गर्दा स्थिति नियन्त्रणबाहिर पुगेको हो।

    शान्तिपूर्ण विरोधबाट सुरु भएको आन्दोलन सोमबार दिउँसो उग्र बन्दै गएपछि आन्दोलनकारीले अस्पतालतर्फ ढुंगामुढा प्रहार गरे। प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गर्नुपर्‍यो। भीड नियन्त्रणका क्रममा अस्पतालभित्र रहेका बिरामी, तिनका आफन्त, चिकित्सक र नर्सहरूले पनि ‘रणभूमि’को जस्तो डर र तनावको अनुभूति गरेको जनाइएको छ।

    अस्पतालमा कार्यरत एक नर्सका अनुसार सोमबारको तनावपूर्ण घटनापछि मंगलबार समेत उनीहरू अस्पताल पुग्न डराइरहेका छन्। “हामी अहिले पनि आत्तिएका छौं,” उनले भनिन्, “केही बिरामीले त फोर्स डिस्चार्ज लिएर अन्य अस्पताल गइसके।”

    सुत्केरी मृत्युको पृष्ठभूमि

    गत शुक्रबार बिहान सुत्केरी व्यथा लागेपछि मिनाश्री राई किष्ट अस्पतालमा भर्ना भएकी थिइन्। परिवारका अनुसार उनी गर्भवती भएदेखि नै सोही अस्पतालमा नियमित परीक्षण गराउँदै आएकी थिइन्। चिकित्सकले दिएको मितिअनुसार उनले शुक्रवार डेलिभरीका लागि अस्पताल प्रवेश गरेकी थिइन्।

    मिनाश्रीका दाजुका अनुसार बिहानदेखि साँझ साढे पाँच बजेसम्म पनि व्यथा नलागेपछि पनि चिकित्सकहरूले ‘सबै नर्मल छ’ भन्दै ढाडस दिएका थिए। तर साँझतिर एक्कासी धेरै रगत बग्न थालेपछि अवस्था बिग्रियो।
    “अचानक रगत चाहियो भनेर हल्ला मच्चियो,” उनले भने, “समयमै रगतको व्यवस्था गर्न नसक्दा मेरी बहिनीको मृत्यु भयो। बिहान हिँडेर आएको मान्छे साँझमा लाश बनेर फर्कियो।”

    वार्ता प्रयास असफल

    आफन्तहरूले चिकित्सकीय लापरवाहीका जिम्मेवार चिकित्सकलाई सार्वजनिक गर्न माग गरेका छन्। अस्पताल प्रशासनसँग पटक–पटक वार्ताको प्रयास भए पनि सञ्चालकहरू उपस्थित नभएर वार्ता असफल भएको उनीहरूको आरोप छ।
    “हामी पीडित परिवारसँग सिधा कुरा गर्ने कोही थिएन,” मृतकका दाजुले भने, “प्रत्येकपटक कर्मचारीहरूलाई पठाइयो, तर निर्णय गर्ने तहका व्यक्तिहरू वार्तामा आएनन्।”

    अस्पतालको पक्ष

    अस्पताल प्रशासनले भने घटनाबारे विस्तृत अध्ययन गर्नुपर्ने बताउँदै लापरवाहीका कारण मृत्यु भएको निष्कर्ष निकाल्न हतारिन नहुने जनाएको छ।
    अस्पतालका वरिष्ठ कर्मचारीले भने, “हामीले घटनाको सत्यता बुझ्ने काम गरिरहेका छौं। तर लापरवाहीको ठ्याक्कै प्रमाण भेटिएपछि मात्रै प्रतिक्रिया दिन सकिन्छ।”

    एक कर्मचारीका अनुसार, वार्ताको क्रममा पीडित पक्षले रु २ करोड क्षतिपूर्ति, मृतकका सन्तानको सम्पूर्ण पढाइको जिम्मेवारी लिने माग राखेका छन्।

    स्थिति नियन्त्रणमा

    अस्पताल वरिपरि सोमबार बेलुकीसम्म प्रहरीको ठूलो संख्यामा उपस्थिति रहेको थियो। भीड पाखा लगाइए पनि तनावपूर्ण वातावरण मंगलबार बिहानसम्म कायमै रहेको छ।
    स्थानीय प्रशासनले घटनाको छानबिनका लागि प्रारम्भिक टोली खटाइसकेको र सुरक्षाको दृष्टिले अस्पताल परिसरमा कडा निगरानी बढाइएको जनाएको छ।

    प्रकाशित : मंगलबार, ११ कार्तिक २०८२ , १२:२१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend