लोकसारथि संवाददाता, काठमाडौं ।
देशमा आसन्न निर्वाचनको वातावरण निर्माण गर्ने उद्देश्यले सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच भोलि (बुधबार) दिउँसो ४ बजे त्रिपक्षीय वार्ता हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा हुने यो बैठकलाई आगामी निर्वाचनका लागि निर्णायक संवादका रूपमा हेरिएको छ।
प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, वार्तामा विभिन्न ८/९ वटा समूहका जेनजी प्रतिनिधि, प्रमुख राजनीतिक दलका नेताहरू, प्रधानमन्त्री र मन्त्रीहरू सहभागी हुनेछन्। बैठकमा सबै पक्षले निर्वाचनको वातावरण बनाउनका लागि आफ्नो–आफ्नो भूमिका र जिम्मेवारीबारे स्पष्ट धारणा राख्ने तयारी गरेका छन्।
यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीको पहलमा सरकार र राजनीतिक दलबीच भएको सर्वदलीय बैठकमा पनि निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माण गर्ने विषयमा सकारात्मक सहमति बनेको थियो।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई राष्ट्रिय प्राथमिकता भन्दै सबै पक्षबीच विश्वासको वातावरण पुनःस्थापना गर्न वार्ता आह्वान गरेकी हुन्। स्रोतका अनुसार, प्रधानमन्त्रीले राजनीतिक संवादलाई निरन्तरता दिँदै जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको समाधान र राजनीतिक स्थायित्वका लागि साझा सहकार्यमा जोड दिनेछिन्।
सरकारका प्रवक्ता जगदिश खरेलका अनुसार, सरकारले निर्वाचन आयोगसँग समेत निरन्तर छलफल गर्दै आवश्यक तयारी अगाडि बढाइरहेको छ। उनले भने, “निर्वाचनको वातावरण बनाउन सरकारले सबै निकायलाई सक्रिय रूपमा संलग्न गराएको छ। आयोगसँगको सहकार्यमा निर्वाचनसम्बन्धी पूर्वाधार तयारी तीव्र गतिमा अघि बढेको छ।”
लामो समयपछि हुन लागेको यस औपचारिक त्रिपक्षीय संवादले देशको राजनीतिक स्थायित्व र लोकतान्त्रिक प्रक्रियामा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
