logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र संसद् विघटनमाथि सर्वोच्चको कारण देखाऊ आदेश, अन्तरिम आदेश अस्वीकार

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र संसद् विघटनमाथि सर्वोच्चको कारण देखाऊ आदेश, अन्तरिम आदेश अस्वीकार


  • बुधबार, कार्तिक १२ २०८२
  • 637
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंहको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्मासहितको पाँच सदस्यीय संवैधानिक इजलासले बुधबार प्रारम्भिक सुनुवाइपछि आदेश जारी गरेको हो।

    अदालतले विपक्षी पक्षहरूलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ। तर, निवेदकहरूले माग गरेको अन्तरिम आदेश भने सर्वोच्चले अस्वीकार गरेको छ।

    अदालतको आदेशमा भनिएको छ, “निवेदकले माग गरेको अन्तरिम आदेश सम्बन्धी विषय रिट निवेदनको अन्तिम सुनुवाइका क्रममा विचार गर्नुपर्ने प्रकृतिको भएकाले हालका लागि अन्तरिम आदेश जारी गरिरहनु आवश्यक देखिँदैन।”

    रिट निवेदकहरूले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति गैरसंवैधानिक रहेको र त्यसपछि गरिएको संसद् विघटन असंवैधानिक भएको दाबी गरेका थिए। उनीहरूले अन्तरिम सरकारलाई दीर्घकालीन नीतिगत वा कानूनी निर्णयहरू नगर्न/नगराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

    सर्वोच्च अदालतमा यस विषयमा दायर १६ वटा रिटमाथि बुधबार संयुक्त रूपमा सुनुवाइ गरिएको थियो। सुनुवाइका क्रममा केही कानुन व्यवसायीहरूले मुद्दा टुंगो लागेसम्म निर्वाचन बाहेकका अन्य सरकारी निर्णयहरू रोक्नुपर्ने तर्क गरेका थिए भने केहीले निर्वाचनसहितका सम्पूर्ण सरकारी कार्य रोक्न माग गरेका थिए।

    सर्वोच्चले हाललाई अन्तरिम आदेश जारी नगर्ने निर्णय गरे पनि संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइका क्रममा रिट निवेदकहरूको मागका विषयमा थप निर्णय गर्ने जनाएको छ।

    प्रकाशित : बुधबार, १२ कार्तिक २०८२ , ०७:१८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend