logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

रवि लामिछाने बिनाको रास्वपा कल्पना गर्न सकिँदैन: तोसिमा

रवि लामिछाने बिनाको रास्वपा कल्पना गर्न सकिँदैन: तोसिमा


  • शुक्रबार, कार्तिक १४ २०८२
  • 637
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीका संस्थापक रवि लामिछानेविना रास्वपाको कल्पना गर्न नसकिने बताएकी छन्।

    उनले पार्टीभित्र वैचारिक र संगठनात्मक पुनर्संरचना आवश्यक रहेकोमा जोड दिँदै नेतृत्व परिवर्तनभन्दा पनि संस्थागत सुधारमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिइन्।

    शुक्रबार रास्वपाद्वारा आयोजित ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. कार्कीले भनिन्, ‘रवि लामिछाने भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक अध्यक्ष हुनुहुन्छ। उहाँले स्थापना गर्नुभयो। स्थापना जसले गर्‍यो, ऊ बिनाको संस्था त कल्पना गर्नै सकिँदैन।’

    पार्टीको केन्द्रीय नेतृत्व भन्नाले व्यक्ति नभई केन्द्रीय समिति, पदाधिकारी र सचिवालय जस्ता संस्थागत संरचनालाई बुझ्नुपर्ने उनको भनाइ थियो। उनले भनिन्, ‘मैले केन्द्रीय नेतृत्व भनेर व्यक्तिलाई होइन, युनिटलाई चिन्छु। त्यहाँ पुनरावलोकन, पुनर्गठन आवश्यक नै छ।’

    डा. कार्कीले पार्टी यथास्थितिवादमा रुमल्लिन नहुने र जेन-जी क्रान्तिको मर्मलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन्। ‘हाम्रो उपस्थिति हुँदाहुँदै हाम्रा साना भाइबहिनीहरूले सडकमा उत्रिएर गोली नै खानुपर्ने स्थिति किन आयो ? यसको समीक्षा रास्वपाले गर्नैपर्छ।’

    उनले रास्वपा अब वैकल्पिक शक्ति मात्र नभएर मूलधारको मध्यमार्गी राजनीतिक शक्तिको रूपमा उदाउनुपर्ने र अन्य वैकल्पिक शक्तिहरूलाई समेत समेटेर अघि बढ्नुपर्ने धारणा राखिन्। उनले थपन्, ‘सुशासन र भ्रष्टाचारविरुद्धको साझा अजेन्डा बनाएर अघि बढ्न यो संवाद एक सुरुवात हो।’

    प्रकाशित : शुक्रबार, १४ कार्तिक २०८२ , ०७:२० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend