logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

जेनजी रिभोलुसशन नेपाल’ को खुला पत्रले सरकारको पाखण्ड उजागर

जेनजी रिभोलुसशन नेपाल’ को खुला पत्रले सरकारको पाखण्ड उजागर


  • शनिबार, मंसिर १३ २०८२
  • 1.1K
    SHARES

    लोकसारथि संवाददाता, बुटवल।

    काठमाडौं, नोभेम्बर 29, 2025 – जेन-जी विद्रोहले देशभर र अन्तर्राष्ट्रिय समुदायमा उत्पन्न गरेको राजनीतिक भूकम्पका बाबजुद पनि राजनीतिक, आर्थिक, प्रशासनिक, सुरक्षा तथा परराष्ट्र क्षेत्रमा कुनै सार्थक सुधार नदेखिएको भन्दै ‘जेनजी रिभोलुसशन नेपाल’ ले प्रधानमन्त्रीलाई कडा भाषा प्रयोग गर्दै खुला पत्र जारी गरेको छ। पत्रमा आन्दोलनपछिको सरकारी गतिविधिलाई “बालुवामा टाउको घुसारेर दोष टार्ने अपराध” का रूपमा चित्रित गरिएको छ।

    पुराना दलको ‘स्मृतिभ्रंश’ र आत्ममुग्धता

    खुला पत्रमा भदौ २४ गतेको रक्तपात भुलेर पुराना राजनीतिक दल र नेताहरू आत्ममुग्धतामा डुबिनु घोर लापरवाही भएको उल्लेख छ। जवानहरूको बलिदानलाई मजाक बनाइएको र देशलाई फेरि अन्धकारतर्फ धकेलिएको आरोप लगाइएको छ। नयाँ र वैकल्पिक दलहरू पनि पपुलिस्ट शैली, अस्पष्ट योजनाहरू र आत्मकेन्द्रित व्यवहारले युवालाई फेरि धोका दिइरहेको पत्रमा आरोप छ।

    अन्तरिम सरकारमाथि कडा प्रहार

    अन्तरिम सरकारलाई ऐतिहासिक अवसर गुमाएको आरोप लगाउँदै पत्रमा भनिएको छ, “जेन-जीका तत्कालिक मागहरू पनि पूरा नगरी ‘कुइरोको काग’ जस्तै हराउनु अक्षम्य अपराध हो।” सरकारले सहिदहरूको रगतलाई पानीझैँ बगाएको र जनताको भरोसा चकनाचुर बनाएको आरोप पनि पत्रमा उल्लेख छ। “असामान्य आन्तरिक र बाह्य स्थितिलाई बेवास्ता गर्नु आत्मघाती हो,” भन्दै सयोजक तथा सह–सयोजकहरूले सरकारलाई चेतावनी दिएका छन्।

    नागरिक सरकारको चरित्र ‘नाङ्गो’ भएको आरोप

    खुला पत्रमा सरकारले न्यायको नाममा धोका दिएको र अपराधीलाई चोख्याउने काम गरेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरिएको छ। “संसारले अपराधी भनेका व्यक्तिलाई तामातुलसी चढाएर चोख्याउनु सहिदप्रतिको अपमान हो,” पत्रमा उल्लेख छ। प्रधानमन्त्रीको सपथग्रहणका दिन गरिएको ‘एक–एकलाई कारबाही’ हुने वाचा झुटो सिद्ध भएको भन्दै अभियन्ताहरूले चाडपर्वहरूमा समेत नरसंहारका आरोपीहरू स्वतन्त्र हिंड्न पाउनु राज्यको अपराधी–मित्र चरित्र भएको आरोप लगाएका छन्।

    छानबिन आयोगप्रति अविश्वास

    “छानबिन आयोगको रिपोर्ट पर्खनु भनेको न्यायलाई अनिश्चितकालसम्म टार्नु हो,” भन्दै पत्रले ढिलाइले निश्चित धोका पैदा गरेको टिप्पणी गरेको छ। मन्त्रिपरिषद् विस्तारमा विवादित नामहरूको समावेशलाई ‘अपराधीको सम्मान’ र ‘एक व्यक्तिको स्वार्थी गिरोह’ भन्दै सरकारप्रति खुलेर चुनौती पनि दिइएको छ।

    युवा पुस्ता फेरि सडकमा उत्रने चेतावनी

    “यदि यो पटक पनि धोका भयो भने, यो पुस्ता फेरि उठ्न सक्छ कि सक्दैन भन्ने निश्चित छैन,” भन्दै अभियन्ताहरूले सहिदहरूको बलिदानलाई ‘घिनलाग्दो राजनीतिमा’ नपरिर्वतन गर्न चेतावनी दिएका छन्। पत्रसँगै विगतमा सरकारद्वारा गरेका झुटा आश्वासनका तस्बिरहरू पनि संलग्न गरिएका छन्, जसले सरकारको पाखण्ड खुलस्त देखाएको जेनजी रिभोलुसशन नेपालको दाबी छ।

    राजनीतिक स्थिरतामा गम्भीर खतरा

    खुला पत्र सार्वजनिक भएपछि जेन-जी विद्रोहको आगो फेरि सल्किएको देखिएको छ। पत्रले सरकारलाई ठोस सुधार, जवाफदेहिता र पारदर्शिताको दिशामा तत्काल कदम चाल्न आग्रह गरेको छ। “युवाहरूका मागहरू सम्बोधन नगरे नेपालको राजनीतिक स्थिरता मात्र होइन, सम्पूर्ण प्रणाली नै भत्किन सक्छ,” पत्रमा भनिएको छ।

    यससँगै नागरिक समाज, युवा अभियन्ता र आन्दोलनका सहभागीहरूले सरकारलाई कडा चेतावनी दिएको छ कि अब सुधारका लागि सरकारसँग कुनै ‘छुट’ बाँकी छैन।

    प्रकाशित : शनिबार, १३ मंसिर २०८२ , ०१:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend