लोकसारथि संवाददाता, काठमाडौं ।
२०८२ भाद्र २४ गते काठमाडौंसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा पूर्वनियोजन, नेतृत्व तथा सम्भावित निर्देशन रहेको आशंकासहित जेन्जी जाँचबुझ आयोगमा औपचारिक निवेदन दर्ता गरिएको छ। जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले आयोगमा निवेदन दर्ता गर्दै उक्त दिन भएका आगजनी, तोडफोड, सार्वजनिक सम्पत्तिमा क्षति तथा जीवनमाथि आक्रमणका घटनाहरू स्वतःस्फूर्त नभई संगठित र निर्देशित हुनसक्ने दाबी गरेका छन्।
निवेदनमा घटनाको निष्पक्ष, वैज्ञानिक र प्रमाण–आधारित छानबिन आवश्यक रहेको उल्लेख गर्दै सार्वजनिक रूपमा उपलब्ध प्रत्यक्षदर्शी विवरण, दृश्य–श्रव्य सामग्री तथा विभिन्न सञ्चारमाध्यममा प्रकाशित रिपोर्टहरूलाई आधार बनाइएको छ। यस्ता सामग्रीहरूले घटनाको गहिरो फौजदारी अनुसन्धान अपरिहार्य बनाएको निवेदनमा भनिएको छ।
विशेषतः पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र ओमप्रकाश अर्यालको सम्भावित भूमिकाबारे सार्वजनिक क्षेत्रमा उठेका प्रश्नहरूको तथ्यपरक परीक्षण गर्न आयोगसँग माग गरिएको छ। निवेदनमा भाद्र २४ गते युवाहरूलाई उद्वेलित गर्दै देशलाई ‘खरानी’ बनाउने, राज्यविहीनताको अवस्था सिर्जना गर्ने तथा सत्ता कब्जाको मनसाय (कु) राखिएको आशंकासमेत उल्लेख गरिएको छ।
निवेदनमा छानबिनका मुख्य बुँदाहरू स्पष्ट रूपमा उल्लेख गरिएका छन्। जसमा घटनाअघि कुनै बैठक, समन्वय वा रणनीति निर्माण भएको–नभएको परीक्षण; नेतृत्व वा परोक्ष/प्रत्यक्ष निर्देशनको पुष्टि; आगजनी र तोडफोड कसरी, कहाँ र कसको निर्देशनमा भयो भन्ने विषयमा विस्तृत अनुसन्धान; साथै राजनीतिक वा शक्ति–केन्द्रित उद्देश्यले अस्थिरता सिर्जना गर्ने सम्भावित डिजाइनको समीक्षा समावेश छन्।
निवेदकले छानबिनका क्रममा संलग्नता प्रमाणित भएमा प्रचलित कानुनअनुसार दोषीमाथि अभियोजन सिफारिस गर्न पनि आयोगसँग आग्रह गरेका छन्। साथै सबै सम्बन्धित व्यक्तिहरूलाई कानुनी प्रक्रियाअन्तर्गत बयानका लागि बोलाउने, छानबिन प्रक्रिया पारदर्शी बनाउने र अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।
विजय शाहका अनुसार यस्ता गम्भीर आरोपहरूको सत्यता स्पष्ट पार्नु लोकतान्त्रिक शासन प्रणालीको आधारभूत दायित्व हो। निष्पक्ष छानबिनबाट मात्रै सार्वजनिक विश्वास कायम हुने र भविष्यमा यस्ता हिंसात्मक घटनाको पुनरावृत्ति रोक्न सकिने उनको भनाइ छ।