बुटवल । बुटवल बहुमुखी क्याम्पस अन्तर्गत नेपाली विभागको आयोजनामा आज प्रा.डा. हिरण्यलाल ज्ञवालीका कृतिको परिचर्चा तथा सेवानिवृत्त प्राध्यापकहरूलाई विदाइ एवम् सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रा.डा. ज्ञवालीका ‘मातृपितृ वन्दना स्मृति काव्य’, ‘हिरण्यलाल ज्ञवालीका कवितामा राष्ट्रिय चिन्तन’ तथा ‘अनुभूतिमा अमेरिका’ कृतिमाथि सहप्राध्यापक ऋषिराम भुसाल, डा. शालिकराम पौड्याल, डा. नारायणप्रसाद पन्थ, उपप्राध्यापक गणेशप्रसाद न्यौपाने, उपप्राध्यापक ईश्वरीप्रसाद पोखरेल र उपप्राध्यापक राजु भुसालले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो। समीक्षकहरूले कृतिको साहित्यिक मूल्य, वैचारिक गहिराइ तथा समकालीन नेपाली साहित्यमा यसको योगदानबारे विस्तृत चर्चा गर्नुभयो।
यसै अवसरमा लामो समयसम्म त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पस तथा बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नुभएका सहप्राध्यापक थानेश्वर अर्याल, बाबुराम शर्मा र कुलमणि शर्मालाई विदाइ तथा सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख डा. अरुणकुमार क्षेत्रीले नेपाली विभागले आयोजना गरेको यस प्रकारको बौद्धिक तथा महत्त्वपूर्ण कार्यक्रम ऐतिहासिक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले शैक्षिक संस्थामा ज्ञान, अनुसन्धान र सिर्जनशीलतालाई थप सशक्त बनाउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा डा. तिलक भुसालको विशेष उपस्थिति रहेको थियो। साथै कवि प्रा.डा. हिरण्यलाल ज्ञवाली, डा. थानेश्वर अर्याल र उपप्राध्यापक हरिप्रसाद देवकोटाले आ–आफ्ना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता नेपाली विभाग प्रमुख डा. सखिशरण सुवेदीले गर्नुभएको थियो भने सञ्चालन डा. प्रेमप्रसाद तिवारीले गर्नुभएको थियो। विभागीय सदस्य विष्णुप्रसाद भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा नेपाली विभागका अन्य विभागीय सदस्यहरू तथा स्नातकोत्तर तहका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समग्रमा कार्यक्रम साहित्यिक, शैक्षिक र बौद्धिक दृष्टिले अत्यन्त सफल र प्रभावकारी रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
