logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

१८ करोड रुपैयाँ भुक्तानी नहुँदा गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई आर्थिक संकट

१८ करोड रुपैयाँ भुक्तानी नहुँदा गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई आर्थिक संकट


  • बुधबार, पुष ९ २०८२
  • 572
    SHARES

    लोकसारथि संवाददाता, रुपन्देही।
    सरकारबाट पाउनुपर्ने करिब १८ करोड रुपैयाँ भुक्तानी नहुँदा बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले आगामी माघ १ गतेदेखि निःशुल्क सेवा बन्द गर्नुपर्ने चेतावनी दिएको छ। मुटु र मिर्गौलाका बिरामीको उपचारबापत पाउनुपर्ने रकम रोकिँदा अस्पताल गम्भीर आर्थिक संकटमा परेको जनाएको छ।

    अस्पतालका अनुसार यस आर्थिक वर्षमा आइपुग्दा मुटु र मिर्गौलाका बिरामीहरूको उपचार गरेबापत सरकारबाट २० करोड ३९ लाख ३१ हजार ८७९ रुपैयाँ प्राप्त गर्न बाँकी रहेकोमा हालसम्म जम्मा दुई करोड ५८ लाख २२ हजार ५०० रुपैयाँ मात्र प्राप्त भएको छ। यसरी नेपाल सरकारबाट १७ करोड ८१ लाख नौ हजार ३७९ रुपैयाँ पाउन बाँकी रहँदा अस्पताल आर्थिक संकटमा परेर अन्य उपचार सेवासमेत प्रभावित हुने अवस्था सिर्जना भएको अध्यक्ष एजाज आलमले बताए।

    सरकारले नियमित रूपमा प्रदान गर्नुपर्ने रकम रोकेर राख्दा औषधि र उपकरणहरूको आपूर्ति रोकिएको, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको तलब भुक्तानीमा समस्या आएको उनले बताए। अस्पताल आर्थिक संकटमा पर्दै गएपछि विपन्न नागरिक औषधि–उपचार कार्यक्रमअन्तर्गत प्रदान हुँदै आएको निःशुल्क उपचार सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था आएको उनको भनाइ छ।

    अस्पतालले पुस मसान्तसम्म सरकारबाट पाउनुपर्ने रकम प्राप्त नभएमा माघ १ गतेदेखि मुटु रोगका बिरामीलाई दिँदै आएको एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार तथा मिर्गौलाका बिरामीहरूको निःशुल्क डायलाइसिस सेवा बन्द गर्न बाध्य हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।

    बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आलमले ठूलो रकम रोकिँदा विभिन्न क्षेत्रको भुक्तानी समयमा गर्न नसकिएको र त्यसले सेवा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै यसबाट बिरामीहरूलाई पर्न जाने असुविधाप्रति अस्पताल क्षमाप्रार्थी रहेको बताए।

    सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि–उपचार कार्यक्रमअन्तर्गत यस वर्ष मात्रै एक हजार ३८४ जना मुटुका बिरामीहरूलाई चार करोड ६४ लाख ८९ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा र ५५१ जना मिर्गौला बिरामीहरूको डायलाइसिसमा १३ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबरको सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ। मुटु र मिर्गौलाका गरी यस वर्ष मात्रै १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरिएको उल्लेख छ।

    यसैगरी, अस्पतालले अतिविपन्न असहाय बिरामीहरूको उपचारका लागि यस वर्ष एक करोड ४५ लाख ७२ हजार ११९ रुपैयाँ बराबरको निःशुल्क उपचार गरेको जनाएको छ। साथै संस्थाका विशिष्ट सम्मानित सदस्य तिलप्रसाद भट्टराईले पाँच जना डायलाइसिसका बिरामीहरूलाई तीन लाख ४१ हजार ४५९ रुपैयाँ बराबरको औषधि निःशुल्क उपलब्ध गराएका छन्।

    अस्पतालका अनुसार आर्थिक वर्ष ०७९/८० मा स्वास्थ्य बिमाबाट स्वास्थ्य विभागमा सार्दा बाँकी रहेको छ करोड १९ लाख ७२ हजार ५०० रुपैयाँ हालसम्म पनि प्राप्त हुन सकेको छैन। विगतमा पनि सरकारी निकायबाट हैरानी व्यहोर्नुपरेको गुनासो गर्दै अध्यक्ष आलमले ०८१ चैतदेखि ०८२ असारसम्म अन्य शाखाबाट प्रदान गरिएको र ०८१ चैतदेखि ०८२ वैशाखसम्म बुटवलबाट प्रदान गरिएको डायलाइसिस सेवाको भुक्तानी प्राप्त हुँदा ८५ लाख ४५ हजार रुपैयाँ कम आएको बताए। उक्त रकम किन कम प्राप्त भयो भनी बिमा बोर्डमा बुझ्दा स्वास्थ्य विभागमा बुझ्नु भन्ने र स्वास्थ्य विभागमा बुझ्दा बिमा बोर्डमा बुझ्नु भन्ने गैरजिम्मेवार जवाफ पाइने गरेको उनको आरोप छ।

    पाँच लाखले सेवा लिएको अस्पताल

    गौतम बुद्ध सामुदायिक मुटु अस्पतालबाट हालसम्म पाँच लाखभन्दा बढी बिरामीले सेवा लिएका छन्। अस्पताल स्थापनाको १२ वर्षको अवधिमा मुटु, मिर्गौला तथा जनरल फिजिसियन सेवामार्फत पाँच लाखभन्दा बढी बिरामीको उपचार भइसकेको जनाइएको छ। ०७० पुस १० गतेदेखि सेवा सुरु गरेको यस अस्पतालले मुटु र मिर्गौलाको उपचारबापत सरकारबाट पाउनुपर्ने रकम रोकिँदा कठिनाइ भएको जनाएको छ।

    मुटुको सामान्य उपचारबाट सुरु गरिएको यस अस्पतालमा ०७३ सालमा सञ्चालन गरिएको क्याथ ल्याबबाट एन्जियोग्राफी, एन्जियोप्लास्ट, अस्थायी पेसमेकर, स्थायी पेसमेकर, पेरिकार्डियो सेन्टिसिस, राइट हार्ट क्याथेटराजेसन र पिटिएमसीजस्ता सेवामार्फत हालसम्म छ हजार पाँच सय ६९ जनाले सेवा लिएको अध्यक्ष आलमले बताए।

    त्यसैगरी, ०७२ सालदेखि सुरु गरिएको मिर्गौलाको उपचार सेवाबाट हालसम्म तीन लाख १३ हजार ७२१ सेसन निःशुल्क डायलाइसिस सेवा प्रदान गरिएको छ। अस्पतालले बुटवलसँगै दाङको लमही, पाल्पाको तानसेन, स्याङ्जाको वालिङ र कपिलवस्तुको बाणगंगामा डायलाइसिस सेन्टर स्थापना गरी सञ्चालन गर्दै आएको छ। नवलपरासी जिल्लाको सुनवलमा पनि डायलाइसिस सेन्टर शीघ्र सञ्चालनको तयारी भइरहेको अस्पतालले जनाएको छ।

    अध्यक्ष आलमका अनुसार हाल बुटवलबाट ३११ जना, लमहीबाट २७ जना, पाल्पाबाट ५९ जना, वालिङबाट ६७ जना र कपिलवस्तुबाट ५७ जना गरी जम्मा ५५१ जना मिर्गौलाका बिरामीहरूले नियमित रूपमा निःशुल्क डायलाइसिस गराउँदै आएका छन्।

    रुपन्देही उद्योग संघको संरक्षकत्वमा सञ्चालित यस अस्पतालमा यस क्षेत्रका उद्योगी–व्यवसायी, विभिन्न रोटरी क्लब, समाजसेवीलगायतको आर्थिक, भौतिक तथा नैतिक सहयोग रहँदै आएको छ। अस्पतालले सरकारसँग रोकिएको रकम तत्काल भुक्तानी गरी निःशुल्क जीवनरक्षक सेवा निरन्तरता दिन आग्रह गरेको छ।

    प्रकाशित : बुधबार, ९ पुष २०८२ , ०५:४८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend