logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

राष्ट्रिय राजनीति क्षेत्रमा नयाँ मोड: रवि लामिछाने र बालेन्द्र (बालेन) शाहबीच बृहत् एकता

राष्ट्रिय राजनीति क्षेत्रमा नयाँ मोड: रवि लामिछाने र बालेन्द्र (बालेन) शाहबीच बृहत् एकता


  • आइतबार, पुष १३ २०८२
  • 975
    SHARES

    बुटवल । राष्ट्रिय राजनीति क्षेत्रमा नयाँ मोड ल्याउने गरी रवि लामिछाने र बालेन्द्र (बालेन) शाहबीच बृहत् एकतासम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ। दुवै पक्षबीच भएको सहमतिअनुसार भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले थालेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिवद्धता जनाइएको छ।

    सम्झौतामा समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य पूरा गर्न गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्र इमान्दारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ।

    बृहत् एकता पश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने सहमति भएको छ। दलको झण्डा साविककै निलो पृष्ठभूमिमा मध्य भागमा सेतो रङ्गको गोलाकारभित्र निलो रङ्गको घण्टीको आकृति रहनेछ भने चुनाव चिन्ह ‘घण्टी’ नै रहनेछ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने उल्लेख गरिएको छ।

    सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुनेछन्।

    बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई अझ सक्षम र फराकिलो बनाइने र युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने सहमति भएको छ।

    आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौताबमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सबै दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने पनि उल्लेख गरिएको छ।

    सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने निर्णयसमेत गरिएको छ।

    रवि–बालेनबीच भएको यो सम्झौताले नेपाली राजनीतिमा वैकल्पिक शक्तिको नयाँ ध्रुवीकरण र आगामी निर्वाचनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    प्रकाशित : आइतबार, १३ पुष २०८२ , १२:५५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend