लोकसारथि संवाददाता, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, अमनचयन र दिगो लोकतन्त्र स्थापना गर्ने एकमात्र विश्वसनीय माध्यम निर्वाचन भएको स्पष्ट पारेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँग भएको भेटमा उनले आम जनताको उल्लेख्य सहभागितासहित आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले अभियन्ता प्रसाईंद्वारा उठाइएका धेरै माग जनताको पक्षमा रहेकाले तिनको सम्बोधनका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको बताइन्। असन्तुष्टि र माग–मुद्दाहरू शान्तिपूर्ण ढंगले राख्न आग्रह गर्दै उनले राजनीतिक अस्थिरता, अन्योल र अशान्तिको अवस्थाबाट देशलाई निकास दिन प्रतिनिधिसभा सदस्यको निर्वाचन अपरिहार्य रहेको उल्लेख गरिन्। साथै, निर्वाचनलाई सफल बनाउने राष्ट्रिय अभियानमा साथ दिन अभियन्ता प्रसाईंसँग आग्रह गरिन्।
मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प भएको दोहोर्याइन्। “धेरै अप्ठ्यारो अवस्थाबाट देशलाई अहिलेको अवस्थामा ल्याएका छौँ। तोकिएको मितिमा निर्वाचन सम्पन्न गराएर राजनीतिक निकास दिन सरकार अहोरात्र खटिएको छ,” उनले भनिन्, “सबै किसिमका संशयलाई चिर्दै देश निर्वाचनको माहोलमा होमिएको छ। ‘यो देश मेरो पनि हो’ भन्ने भावना राखी सबै पक्ष जिम्मेवार र सक्रिय बनौँ।”
सरकार सत्ताभोग वा सुखसयलका लागि नभई न्यायका पक्षमा उभिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार अन्त्य र शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी भइसकेको बताइन्। “सबै कामको नतिजा रातारात देखिँदैन, तर हामीले आधारशिला तयार गरेका छौँ,” उनले भनिन्, “तपाईंले उठाउनुभएका कतिपय माग र मुद्दाको सम्बोधनका लागि पनि सरकारले निरन्तर गृहकार्य गरिरहेको छ। थप छलफल हुँदै जानेछ, सरकार सधैं जनताकै साथमा छ।”
भेटका अवसरमा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्ने अभियानमा सहकार्यका लागि अभियन्ता प्रसाईंसँग आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको तस्बिर उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
