logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

विदेशी सहायता स्वाभिमान  कि प्रभुत्वको लगानी?

विदेशी सहायता स्वाभिमान  कि प्रभुत्वको लगानी?


  • मंगलबार, पुष २२ २०८२
  • 4.3K
    SHARES

    विश्वका शक्तिशाली राष्ट्रले प्राकृतिक विपत्ति,गरिबी,अशिक्षा,विकास र मानवीय सहायताका नाममा जे जति सहयोग गरेका छन्, त्यो कदापि निस्वार्थ सेवा होइन। नेपाल जस्ता कमजोर देशले विदेशी सहयोग र अनुदान भन्ने बित्तिकै दुई हात माथि उफ्रेर माग्नका लागि हात पसारी हाल्छन्। त्यो सहयोग, सहयोग होइन;उनीहरूको अप्रत्यक्ष लगानी हो। त्यसको शतप्रतिशत हिसाब उनीहरूले असुली हाल्छन्। त्यही सहयोगका नाममा उनीहरू कमजोर देशमाथि नाङ्गो हस्तक्षेप गर्छन् र निरीह जनतालाई गुलाम जस्तै बनाउँछन्। उनीहरूका इसारामा अगाडि सारिएका  नेतृत्व उनीहरूका आदेश पालक मात्रै हुन्, त्यसभन्दा बढी ओैकात उनीहरूको हुँदैन।उनीहरूले थुप्रै देशमा  लेन्डुपहरू जन्माइरहेका छन् ।

    तिनको उपयोगिता सकिएपछि वा आफूसँग पङ्गा लिन तम्सिएपछि त्यहीँभित्रैबाट नयाँ पात्र खडा गरी अर्को पात्र निर्माण गर्छन्, जसलाई आफ्नो पूरापूर सहयोग दिन्छन् र सहायता दर्साउँछन् ।जे होस्, आफ्नो प्रभुत्व कायम राख्नु उनीहरूको भित्री मक्सद रहेको हुन्छ। अर्कातर्फ प्राकृतिक सम्पदा सम्पन्न मुलुकप्रति उनीहरूले भित्री आँखा गाडिसकेका हुन्छन्। ती देशले इन्धन, खनिज, जल, जङ्गलजस्ता प्राकृतिक स्रोत सम्पन्न भएर पनि त्यसको परिचालन आफैँ गर्न नसक्नु र त्यही कमजोरीका कारण सहयोगका लागि विदेशीलाई गुहार्नु अर्को खतरालाई निम्तो दिनु  हो। प्रविधिको विकास र प्रयोगमा पछि पर्नु, विश्व प्रतिस्पर्धामा उत्रन नसक्नु तथा आम नेतृत्व र नागरिकले दीर्घकालीन सुझबुझ पुर्याउन नसक्नु गम्भीर विषय हुन्। कम्तीमा देशभक्त नागरिक र शक्ति एक ठाउँमा उभिन नसक्नु र नेता पदीय स्वार्थमा अल्झिँदा स्वाभिमान गुमेको थाहा नपाउनु अर्को भूल हो। स्वार्थका खातिर देशभक्त शक्तिलाई खुइलाउनु अझ अर्को महाभूल हो। यो बेला सङ्कटको बेला हो।

    विश्व शक्तिराष्ट्रहरू आफ्नो साम्राज्य विस्तार गर्न तम्सिरहेका बेला हामी नेपाली आफूभित्रै एकअर्कामा झिँगेमारा गालीमा उत्रिरह्यौँ र देशको स्वाधीनताका पक्षमा वीर पुर्खाको रगत बगेको छातीमा हात राखेर गम्भीरतापूर्वक सोच्न सकेनौँ भने पश्चातापको निकट भविष्यमा उभिनुकाे हाम्रो अर्को विकल्प छैन। विदेशी शक्तिहरूको चलखेल तबसम्म रहन्छ जबसम्म हामी एकअर्कामा मनमुटावमा रमाउँछौँ। भाइफुटे गवार लुटे उखान चरितार्थ तब हुन्छ जब एकअर्कामा उछितो काढ्न छाड्दैनौँ र स्वदेशी आवरणमा विदेशी गोटी बन्न चाहन्छौँ। हामी नेपाली निकै संवेदनशील छौँ। एउटा यस्तो जमात छ,त्यसमा जता हावा बग्छ उतै दौडिहाल्छाैँ। कुनै बेला गोविन्द केसीलाई देवताको स्वरूप ठानेर तिनका पछि पनि दौडियाैँ ।कुनै बेला तिनै केसीका विरुद्ध दुर्गा प्रसाईं लाग्दा तिनका पछि पनि दौडियाैँ। बेला बेला हिजो बेठिक ठानेको राजा ठिक पनि भन्याैँ। कहिले सुदन, कुलमान, कहिले रवि र बालेन ठिक भन्दै दौडिरहेका छौँ।अस्थिरता व परिवर्तनकाे खाेजीमा भाैँतारिरहन्छाैँ। ठिक कुन भनेर पहिचान गर्ने हाम्रो सामर्थ्य गुमिसकेको जस्तो। हामी तरल र सतही छौँ, ठन्डा दिमागले सोच्नै सक्दैनौँ। बहकाव र लहड हाम्रो पहिचान जस्तो बनेको छ। त्यसैले त एकता र स्वत्व गुमाइसकेका छौँ। एकताबद्ध शक्ति नै हाम्रो बलियो आधार हो। सही शक्ति पहिचान गरी ध्रुवीकृत हुनु आजको आवश्यकता हो।

    राष्ट्रहित र स्वाभिमान चाहनेहरू एक ठाउँमा उभिनै पर्छ। भेनेजुएलाका आन्तरिक घटककहरू  एकअर्कामा एक हुन नसक्दा एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र कसरी शक्तिको परेड र क्रीडास्थल बन्दाे रहेछ भन्ने ज्वलन्त उदाहरण छ। युक्रेनलाई हेरौँ आन्तरिक विभाजनकै कारण युद्धको चपेटामा कसरी पर्यो। शक्ति राष्ट्रले नेपालमा दृश्य रूपमै आफ्नो खेल सुरु गरिसकेका छन्। उनीहरू नेपाल उठेको देख्न चाहन्नन्। नियन्त्रित अस्थिरता उनीहरूको रणनीति हो, आफ्नो वाहना हो। देशको पक्षमा बोल्यो भने उनीहरूले आक्रमणको तारो बनाइहाल्छन्।शक्तिकाे सार्वर्भाैम नियम जस्ताे त्यस्ताे पात्र वा नेतृत्वलाई सत्ताच्युत गराई भुत्ते बनाइहाल्छन्। हामीले पनि कतै आफ्नो  स्वाभिमानका पक्षमा र विदेशी हस्तक्षेपका विरुद्ध बोल्ने शक्ति गुमाएकै हो? विदेशी शक्तिका आडमा उभ्याएकालाई नै नेपालीले जयजयकार गर्नुपर्ने हो? होइन भने किन राष्ट्रियताको पक्षमा उभिने शक्तिको तेजोवध हुन्छ? उसलाई कमोर पारिन्छ? यी अनुत्तरित प्रश्नको स्पष्ट जवाफ आज खोज्नुपरेको छ। प्रजातन्त्र, लोकतन्त्र भन्ने कुरा लागु हुनुपर्ने भए किन अमेरिका, रुस जस्ता शक्तिसम्पन्न राष्ट्रलाई लागु हुँदैन? उनीहरूले जे गरे पनि लोकतन्त्र हुन्छ, सुशासन हुन्छ।

    उच्च प्रविधियुक्त हतियारधारी सेनाले राष्ट्रपति सुतेकै ओच्छ्यानमा पुग्दा पनि लोकतन्त्र मान्दिनुपर्ने? प्यालेस्टाइनका लाखौँ निहत्था जनता मारिँदा पनि लोकतन्त्र भनििदिनुपर्ने? इराक, इरान, अफगानिस्तान, भेनेजुएला, सिरियालगायतका देशमा साँच्चिकै लोकतन्त्रको सुन्दर अभ्यास भइरहेको मान्ने? यही लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र हो भने सच्चा शासनव्यवस्था कुन हो? के लोकतन्त्र देखाउने दाँत मात्र हो? शक्तिको आडलाई लोकतन्त्र मान्ने हो भने संयुक्त राष्ट्रसंघ किन क्रूर आततायी घटनामा शान्तिका लागि बोल्न र समन्वय गर्न सक्दैन? के शक्तिको तलुवा चाट्नु उसको लाचारी र पहिचान हो? आज कमजोर देशमाथि शक्तिको यही कालाे बादल मडारिरहेको छ।

    प्रकाशित : मंगलबार, २२ पुष २०८२ , ०५:४७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend