logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

फेक रेस्क्यु प्रकरणः करोडौँको बीमा ठगीमा संलग्न ६ जना पक्राउ

फेक रेस्क्यु प्रकरणः करोडौँको बीमा ठगीमा संलग्न ६ जना पक्राउ


  • आइतबार, माघ ११ २०८२
  • 494
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्यटक उद्धारको नाममा गरिएको बहुचर्चित ‘फेक रेस्क्यु’ प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी रहेका छन् । सीआईबीका अनुसार जयराम र विवेक माउन्टेन रेस्क्यु सर्भिस प्रालि, रविन्द्र अधिकारी र विवेकराज थपलिया नेपाल चार्टर सर्भिस प्रालि तथा मुक्ति पाण्डे र सुभाष केसी एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिसँग सम्बन्धित व्यक्ति हुन् ।

    सीआईबीले उनीहरूमाथि राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।

    सीआईबी प्रमुख मनोज केसीका अनुसार पक्राउ परेका व्यक्तिहरूको संलग्नतामा पर्यटकलाई उद्धारको बहानामा फेक रेस्क्यु गर्ने, नियोजित रूपमा एउटै अस्पतालमा उपचारका लागि लैजाने, ट्राभल एजेन्सी र हेलिकोप्टर कम्पनीसँग मिलेमतो गरी बीमा दाबी गर्नकै लागि नक्कली बिरामी बनाउनेजस्ता कार्य हुँदै आएको पाइएको छ ।

    उनका अनुसार माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १ हजार २४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यु गरेको अनुसन्धानबाट खुलेको छ । सो कम्पनीले १ करोडभन्दा बढी अमेरिकी डलर बराबरको बीमा दाबी गरेको पाइएको छ ।

    त्यसैगरी नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जनाको रेस्क्यु गरेको दाबी गरे पनि तीमध्ये ७५ जनाको रेस्क्यु फेक रहेको खुलेको छ । उक्त कम्पनीले ८२ लाख अमेरिकी डलर बराबरको बीमा दाबी गरेको अनुसन्धानमा भेटिएको छ ।

    एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्क्यु गरेको पाइएको छ । सोबापत कम्पनीले ११ लाख ५३ हजार अमेरिकी डलर बीमा दाबी गरेको सीआईबीले जनाएको छ ।

    फेक रेस्क्यु प्रकरण आर्थिक हिनामिना र अन्तर्राष्ट्रिय बीमा ठगीसँग जोडिएको आशंकामा सीआईबीले साढे दुई महिनादेखि छुट्टै युनिट तथा कार्यदल गठन गरी सघन अनुसन्धान गर्दै आएको थियो । अनुसन्धानका क्रममा नक्कली कागजात तयार गरी करोडौँ रुपैयाँ बराबरको बीमा ठगी गरिएको प्रमाण फेला परेको सीआईबीले स्पष्ट पारेको छ ।

    प्रहरीका अनुसार यस प्रकरणले नेपालको पर्यटन क्षेत्रको विश्वसनीयता र अन्तर्राष्ट्रिय छविमा गम्भीर असर पार्ने भएकाले अनुसन्धानलाई अझै गहिरो बनाइनेछ ।

    प्रकाशित : आइतबार, ११ माघ २०८२ , ०९:१३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend