logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक विद्यालयस्तरीय छात्र भलिबल प्रतियोगिता हुँदै

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक विद्यालयस्तरीय छात्र भलिबल प्रतियोगिता हुँदै


  • मंगलबार, माघ १३ २०८२
  • 884
    SHARES

    लोकसारथि संवाददाता, बुटवल ।

    बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय छात्र भलिबल प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ । न्यू होराइजन स्पोर्ट्स क्लब, बुटवलको आयोजनामा माघ १५ गतेदेखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

    आयोजक क्लबले आइतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा रुपन्देही जिल्लाभित्रका १६ वटा माध्यमिक विद्यालयका टिमहरूको सहभागिता रहने जानकारी दिएको छ । विद्यालयस्तरबाटै दक्ष र अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका कार्यबाहक अध्यक्ष बालकृष्ण बस्यालले बताए ।

    बुटवल–११ स्थित देवसिद्ध चोकमा रहेको न्यू होराइजन स्पोर्ट्स क्लबको खेलमैदानमा हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्वितीय हुने टिमले ३० हजार, तृतीय हुने टिमले २० हजार र सान्त्वना हुने टिमले १० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा सैनामैना माध्यमिक विद्यालय रानिबगिया, नयाँगाउँ माध्यमिक विद्यालय बुटवल, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय बुटवल, कान्ति माध्यमिक विद्यालय बुटवल, त्रिभुवन युनाइटेड माध्यमिक विद्यालय बुटवल, दीप बोर्डिङ हाई स्कुल बुटवल, एभरेष्ट माध्यमिक विद्यालय बुटवल, कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवल, मणिमुकुन्द माध्यमिक विद्यालय बुटवल, न्यू होराइजन माध्यमिक विद्यालय बुटवल, होराइजन जी.भी.एस. माध्यमिक विद्यालय ड्राइभरटोल, सिद्धार्थ माध्यमिक विद्यालय डिंगरनगर, ग्रिन प्लान्ट माध्यमिक विद्यालय देवदह, काशी नोवेल माध्यमिक विद्यालय भैरहवा, शान्ति नमुना माध्यमिक विद्यालय मणिग्राम तथा लिलाराम न्यौपाने माध्यमिक विद्यालय भैरहवाको सहभागिता रहनेछ ।

    करिब ४ लाख ७२ हजार रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर), बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट सर्भर र बेस्ट कोचलाई नगदसहित सम्मान गरिनेछ । साथै अनुशासित खेलाडी र उदाउँदो (उदीयमान) खेलाडीलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    कार्यक्रममा बोल्दै न्यू होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले न्यू होराइजन स्कुल शिक्षण क्रियाकलापमा मात्र सीमित नरही खेलकुद क्षेत्रमा पनि अब्बल पहिचान बनाउन सफल भएको उल्लेख गरे । उनले विद्यालयस्तरबाटै खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यले यस्ता प्रतियोगिताहरू निरन्तर रूपमा आयोजना गरिँदै आएको बताए ।

    प्रकाशित : मंगलबार, १३ माघ २०८२ , ०७:०२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend