logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

मामा घर जान निस्केकी युवती इनारमा मृत भेटिइन्, प्रेमी पक्राउ

मामा घर जान निस्केकी युवती इनारमा मृत भेटिइन्, प्रेमी पक्राउ

मामा घर जान भनेर घरबाट निस्केको करिब एक महिनापछि मृत अवस्थामा भेटिइन्


  • बुधबार, माघ १४ २०८२
  • 598
    SHARES

    लोकसारथि संवाददाता, बाँके ।

    बाँकेको डडुवा गाउँपालिका–३ बनकट्टीकी एक युवती मामा घर जान भनेर घरबाट निस्केको करिब एक महिनापछि मृत अवस्थामा भेटिएकी छन् । हत्या गरी इनारमा फालिएको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा मृतक युवतीकै प्रेमीलाई पक्राउ गरेको छ ।

    घटना माघ १ गते बिहान करिब साढे १० बजे सार्वजनिक भएको हो । बनकट्टी गाउँस्थित राम फेरन कुर्मीको घर पछाडि रहेको वर्षौंदेखि प्रयोगविहीन इनारबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुगेर इनारबाट सडिसकेको शव निकालेको थियो ।

    शव अत्यधिक सडिसकेको अवस्थामा रहेकाले प्रारम्भिक रूपमा पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ । तर, मृतकले लगाएका कपडा र गहनाको आधारमा ती युवती सोही ठाउँकी २१ वर्षीया बसन्ती गोडिया भएको पुष्टि भएको थियो । शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो ।

    भेरी अस्पतालको पोस्टमार्टम रिपोर्टमा ‘चोप इन्ज्युरी टू नेक एण्ड हेड’ अर्थात् टाउको र घाँटीको विभिन्न भागमा गहिरो चोट लागेको उल्लेख छ । रिपोर्टका आधारमा प्रहरी घटनालाई हत्या ठहर गर्दै अनुसन्धान अघि बढाएको बाँकेका प्रहरी प्रमुख (एसपी) अंगुर जिसीले जानकारी दिए ।

    मृतक बसन्ती गोडिया करिब एक महिनाअघि मामा घर जान भनेर घरबाट निस्किएको परिवारले जनाएको थियो । तर, अनुसन्धानका क्रममा उनी भारतको नानापारास्थित मामा घर नगएको खुलेको एसपी जिसीले बताए ।

    प्रहरी अनुसन्धानका क्रममा मृतक युवती करिब एक वर्षदेखि आफ्नै घर छेउका २५ वर्षीय राकेश बर्मासँग प्रेम सम्बन्धमा रहेको खुलेको छ । अनुसन्धान अगाडि बढाउँदै जाँदा बर्माले नै बसन्तीको हत्या गरी शव इनारमा फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बर्माले आफू प्रेम सम्बन्धमा रहँदा बसन्तीको अन्य युवकसँग पनि सम्बन्ध रहेको थाहा पाएपछि आवेगमा आएर हत्या गरेको बयान दिएका छन् ।

    प्रहरी अनुसन्धान विवरणअनुसार बर्माले माघको सुरुवाततिर राति करिब ११ बजे ‘सल्लाह गर्नुछ’ भन्दै प्रेमिकालाई घरबाट बोलाएका थिए । त्यसपछि नजिकैको लाहारी बारीमा लगेर विवाद भएको र त्यही क्रममा टाउकामा प्रहार गरी हत्या गरेको उनले स्वीकारेका छन् । हत्या पछि शव इनारमा फालिएको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न अभियुक्तलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    प्रकाशित : बुधबार, १४ माघ २०८२ , ०५:०७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend