logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

“पैसामा मत बेच्नु भविष्यका पुस्ताप्रति धोका हो”-महावीर पुन

“पैसामा मत बेच्नु भविष्यका पुस्ताप्रति धोका हो”-महावीर पुन

“दुईचार हजार, पाँचसात हजार वा आठ–दश हजारमा बिक्यो भने त्यो व्यक्ति सिधै नर्कमा जान्छ”


  • शुक्रबार, माघ १६ २०८२
  • 780
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले मतदातालाई पैसाको प्रलोभनमा नपर्न आग्रह गरेका छन्। म्याग्दी जिल्लामा चुनावी प्रचारका क्रममा पुनले पैसामा मत बेच्नु भविष्यका पुस्ताप्रति गम्भीर धोका हुने बताएका हुन्।

    चुनावी सभामा बोल्दै पुनले साना रकमको लोभमा परेर मत बेच्ने प्रवृत्तिको कडा आलोचना गरे। उनले दुई–चार हजारदेखि आठ–दश हजार रुपैयाँसम्ममा मत बेच्नु केवल व्यक्तिगत कमजोरी मात्र नभई आउँदो पुस्ताको भविष्यमा नकारात्मक असर पार्ने कार्य भएको बताए।

    “दुईचार हजार, पाँचसात हजार वा आठ–दश हजारमा बिक्यो भने त्यो व्यक्ति सिधै नर्कमा जान्छ,” पुनले भने, “किनभने उसले भविष्यको हाम्रो छोरा–नातिलाई सिधा धोका दिएको हुन्छ। अहिले पैसामा बिक्नु भनेको छोरा–नातिले दुःख पाउनु हो।”

    पुनले पैसामा मत बेच्दा पाप लाग्ने र त्यसको असर सन्तानसम्म पुग्ने दाबी पनि गरे। “छोरा–नातिको श्राप लाग्छ। पैसामा बिक्ने मान्छे श्राप लागेर सिधा नर्कमा जान्छ,” भन्दै उनले मतदातालाई सचेत हुन आग्रह गरे।

    स्वतन्त्र उम्मेदवार पुनको स्पष्ट, भावनात्मक र कडा भाषाशैली अहिले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा व्यापक चर्चाको विषय बनेको छ। उनका अभिव्यक्तिहरूले मत किनबेचविरुद्ध बहसलाई पुनः सतहमा ल्याएको विश्लेषकहरू बताउँछन्।

    पुनले आफू स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएको भए पनि चुनाव जितेमा युवाहरूसँग सहकार्य गर्दै विकास, प्रविधि र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

    उनको चुनावी अभियान म्याग्दीमा पारदर्शिता, नैतिक राजनीति र पुस्तागत उत्तरदायित्वको बहससँग जोडिँदै गएको देखिन्छ।

    प्रकाशित : शुक्रबार, १६ माघ २०८२ , ०२:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend