लोकसारथि संवाददाता, काठमाडौं ।
मध्यपूर्वमा बढ्दो द्वन्द्व र अस्थिरताका बीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (IRGC) अन्तर्राष्ट्रिय समुदायको निशानामा परेको छ। पछिल्ला प्रतिवेदनहरूअनुसार युरोपेली युनियनपछि अब बेलायतले पनि आईआरजीसीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
यस निर्णयसँगै बेलायतले आईआरजीसीलाई आधिकारिक रूपमा आतंकवादी संगठनको सूचीमा राख्ने तयारी गरेको बताइएको छ। यसअघि अमेरिका, फ्रान्स, अष्ट्रेलिया, साउदी अरेबिया, बहराइनसहित विश्वका ३४ देशले आईआरजीसीलाई आतंकवादी संगठन घोषणा गरिसकेका छन्।
आईआरजीसी के हो र किन स्थापना भयो ?
आईआरजीसीको स्थापना सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तिपछि गरिएको हो। यो संगठन इरानको नियमित सेनाबाट पूर्ण रूपमा अलग संरचना भएको सैन्य–राजनीतिक शक्ति हो।
अनुसन्धानकर्ता मार्क डी. सिलिन्स्कका अनुसार अयातुल्ला खुमैनीले केवल सैन्य उद्देश्यका लागि मात्र होइन, इस्लामिक विचारधाराको संरक्षण र विस्तारका लागि छुट्टै संगठनको परिकल्पना गरेका थिए। खुमैनीको मुख्य उद्देश्य युवाहरूलाई कट्टर इस्लामिक विचारधारासँग जोड्दै सत्ता संरचनालाई सुरक्षित गर्नु थियो।
हाल आधिकारिक रूपमा आईआरजीसीसँग करिब १ लाख ५० हजार सक्रिय सदस्य छन् भने यसको स्वयंसेवक संख्या २ करोडभन्दा बढी रहेको अनुमान गरिन्छ।
विश्वका महाशक्ति किन डराउँछन् ?
ब्रिटिश संसदको एक प्रतिवेदनअनुसार आईआरजीसीको मुख्य काम विश्वभर कट्टर विचारधारा फैलाउने र प्रोक्सी संगठनमार्फत प्रभाव विस्तार गर्नु हो, जसलाई युरोप र अमेरिका आफ्ना लागि गम्भीर सुरक्षा खतरा मान्छन्।
आईआरजीसीलाई खतरनाक ठानिनुका प्रमुख कारणहरू यसप्रकार छन्—
प्रोक्सी संगठनहरूको जाल
१९९० को दशकदेखि इरानले हूती, हिजबुल्ला, कताइब र हमासजस्ता सशस्त्र समूहहरूलाई सहयोग गर्दै आएको आरोप छ। यी संगठनमार्फत आईआरजीसीले अमेरिका तथा युरोप समर्थित राष्ट्रहरूलाई ठूलो क्षति पुर्याएको बताइन्छ।
ऊर्जा र व्यापार मार्गमा प्रभाव
मध्यपूर्व विश्वकै सबैभन्दा ठूलो तेल र ऊर्जा भण्डार भएको क्षेत्र हो। आईआरजीसीको सक्रियताका कारण यस रणनीतिक क्षेत्रमाथि अमेरिका र पश्चिमी राष्ट्रहरूको प्रभाव कमजोर हुँदै गएको विश्लेषण गरिन्छ।
अमेरिकी सैन्य ठिकानामाथि आक्रमण
सन् २००१ पछि इराक र अफगानिस्तानमा अमेरिकी सेनामाथि भएका आक्रमण र दबाबमा आईआरजीसीको ठूलो भूमिका रहेको आरोप छ। त्यतिबेला कासिम सुलेमानीको नेतृत्वमा संगठन अझै शक्तिशाली बनेको बताइन्छ।
डोनाल्ड ट्रम्पमाथि आक्रमणको आरोप
अमेरिकी गुप्तचर निकायहरूको दाबीअनुसार आईआरजीसीका एजेन्टहरू अमेरिका भित्र पनि सक्रिय छन्। सन् २०२४ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणमा इरान र आईआरजीसीको संलग्नता रहेको आशंका गरिएको थियो।
समग्रमा, आईआरजीसीलाई केवल मध्यपूर्वको स्थायित्व मात्र होइन, विश्वव्यापी सुरक्षा व्यवस्थाका लागि पनि गम्भीर चुनौतीका रूपमा हेरिँदै आएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
