लोकसारथि संवाददाता, काठमाडौं ।
आठराई गाउँपालिका–७ की २२ वर्षीया एलिसा विश्वकर्मामाथि जातीय विभेद तथा छुवाछूत गरेको कसुरमा जिल्ला अदालतले सोही स्थानकी ३२ वर्षीया तारादेवी खतिवडालाई नौ महिना कैद सजाय सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको २०८२ माघ १८ गतेको इजलासले खतिवडालाई दोषी ठहर गर्दै नौ महिना कैद, २५ हजार रुपैयाँ जरिबाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । उक्त जानकारी जिल्ला अदालतका श्रेस्तेदार नरहरि ढकालले दिनु भएको छ ।
आठराई गाउँपालिका–७ पिप्लेकी खतिवडाविरुद्ध पीडित पक्षले २०८२ भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । उजुरी अनुसार २०८२ भदौ ११ गते आठराई–७ नाम्जाङ्गस्थित नाम्जाङ्ग आधारभूत विद्यालयमा तीज कार्यक्रमका क्रममा खाजा खाने बेला आरोपितले जातीय विभेद गरेको भनिएको छ । सोही दिन पीडितले छोएको खाना अरूले खान नमानेको भन्दै विभेद गरिएको आरोप लगाइएको थियो ।
उजुरीपछि प्रहरीले खतिवडालाई भदौ १६ गते नै पक्राउ गरेको थियो । त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत भदौ ३० गते जिल्ला अदालतमा जातीय विभेदसम्बन्धी मुद्दा दर्ता गरिएको थियो ।
जिल्ला अदालतका न्यायाधीश बर्देवाको भदौ ३१ गतेको आदेश अनुसार ३ लाख रुपैयाँ धरौटी तोकिएको थियो । सोही दिन धरौटी बुझाएपछि खतिवडा रिहा भएकी थिइन् । उक्त जानकारी श्रेस्तेदार रितु राईले दिनु भएको हो ।
घटनाका विषयमा नाम्जाङ्ग आधारभूत विद्यालयकी प्रधानाध्यापक समेत रहेकी खतिवडाले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा आफूले सधैँ एलिसा विश्वकर्मासँगै खाजा खाने गरेको दाबी गर्दै भदौ ११ गते तीज कार्यक्रममा ज्येष्ठ नागरिकसमेत सहभागी हुने भएकाले भान्साभन्दा अलि अलग बस्न मात्र भनेको प्रतिक्रिया दिनु भएको थियो ।
यस घटनाको विरोधमा २०८२ भदौ १३ गते जात व्यवस्था उन्मूलन मोर्चा, भदौ १४ गते सङ्घीय लिम्बूवान जातीय मञ्च र भदौ १५ गते आठराई सचेत नागरिक समाजले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै जातीय विभेदको कडा निन्दा गरेका थिए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
