लोकसारथि संवाददाता, काठमाडौं ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा कालिकोट जिल्लाका दुई सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले २०८२ माघ १८ गते रास्कोट नगरपालिका–स्थित कालाशिल्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज चौलागाई र खाडाचक्र नगरपालिका–स्थित चुलीकालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपबहादुर शाहीसँग आचारसंहिता उल्लंघनको विषयमा लिखित स्पष्टीकरण माग गरेको हो ।
अनुगमन समितिका अनुसार प्रधानाध्यापक चौलागाईले विद्यालय बन्द गरेर नेपाली कम्युनिष्ट पार्टीको ‘एकता सन्देशसभा’मा सहभागी भएको, तथा प्रधानाध्यापक शाहीले एकीकृत मालेका उम्मेदवारलाई विद्यालय परिसरभित्र निर्वाचनसम्बन्धी कार्यक्रम गर्न दिएको आरोप छ । आयोगले दुवै जनालाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।
आचारसंहिता अनुगमन अधिकृतको कार्यालयका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार विद्यालयका प्रधानाध्यापकहरूले आचारसंहिता विपरीत गतिविधि गरेको गुनासो आएपछि स्पष्टीकरण सोधिएको हो ।
यसबीच, कालाशिल्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज चौलागाईले आफूलाई २०८२ माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको जानकारी रहेको भन्दै विद्यालयमा कुनै पनि आचारसंहिता उल्लंघन नगरेको दाबी गर्नुभएको छ । उहाँले माघ १८ गते नै लिखित जवाफ निर्वाचन आयोगलाई पठाइसकेको जनाउनुभयो ।
चौलागाईका अनुसार बेलुकी ४ बजेपछि शिक्षक–कर्मचारीका पेशागत मागहरू नेपाली कम्युनिष्ट पार्टीको चुनावी घोषणा पत्रमा समावेश गराउन सुझाव दिन मात्रै कार्यक्रममा सहभागी भएको र त्यसले आचारसंहिता उल्लंघन नहुने दाबी गर्नुभयो ।
त्यस्तै, चुलीकालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपबहादुर शाहीले उम्मेदवार विद्यालय बाहिरको बाटो हुँदै गाउँ जाने क्रममा विद्यालय भवनको अभाव लगायतका समस्या जानकारी गराउन विद्यालयको हाताभन्दा बाहिर रहेको होस्टेलमा भेटघाट भएको बताउँदै आफूले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको दाबी गर्नुभएको छ ।
निर्वाचन आयोगले प्राप्त स्पष्टीकरणको अध्ययनपछि आवश्यक निर्णय गर्ने जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
