logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

टुथपेष्ट र सौन्दर्य सामग्रीमा अत्यधिक सिसा भेटिएको भन्दै चिकित्सक सङ्घको कडा नियमन माग

टुथपेष्ट र सौन्दर्य सामग्रीमा अत्यधिक सिसा भेटिएको भन्दै चिकित्सक सङ्घको कडा नियमन माग


  • शनिबार, माघ २४ २०८२
  • 1.1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दन्तमञ्जन (टुथपेष्ट) लगायत विभिन्न सौन्दर्य सामग्रीमा सिसा (लिड) को मात्रा अत्यधिक रहेको भन्दै सरकारसँग कडा नियमन र अनुगमन गर्न माग गरेको छ।

    सङ्घका महासचिव डा. सञ्जिव तिवारी ले शुक्रबार जारी गरेको विज्ञप्तिमा टुथपेष्टसहित मुख तथा दन्त सरसफाइका सामग्री र अन्य सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक सिसाको मात्रा भेटिएको उल्लेख गर्दै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरिएको हो।

    ३१ प्रतिशत नमूनामा मापदण्डभन्दा बढी सिसा

    चिकित्सक सङ्घका अनुसार जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सेफेड) ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देशका विभिन्न सहरका पसलबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा ३१ प्रतिशत नमूनामा स्वीकृत अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिएको देखाएको छ।

    सङ्घले यो तथ्यलाई गम्भीर जनस्वास्थ्य संकटको संकेत भन्दै चिन्ता व्यक्त गरेको छ।

    टुथपेष्टका ४५ प्रतिशत नमूनामा सिसा

    विज्ञप्तिमा दैनिक प्रयोग हुने दन्तमञ्जनका ४५ प्रतिशत नमूनामा सिसा भेटिएको उल्लेख छ। त्यस्तै बालबालिकाका लागि बजारमा उपलब्ध केही सामग्री मा समेत सिसा पाइएको जनाइएको छ।

    चिकित्सक सङ्घले यस्ता सामग्रीको गुणस्तर परीक्षण, प्रमाणिकरण, बजार अनुगमन तथा आयात नियन्त्रण प्रणाली बलियो बनाउन सरकारसँग माग गरेको छ।

    समयमै रोकथाम नगरे जनस्वास्थ्यमा दीर्घकालीन असर

    सङ्घले सिसा (Lead) लाई विश्व स्वास्थ्य सङ्गठन (WHO) लगायत स्वास्थ्य निकायहरूले मानव स्वास्थ्यका लागि अत्यन्त घातक र विषालु तत्वका रूपमा प्रमाणित गरिसकेको स्मरण गराएको छ।

    विशेषगरी दन्तमञ्जन र सौन्दर्य सामग्रीजस्ता वस्तुहरू दैनिक प्रयोग हुने भएकाले शरीरमा सिसा निरन्तर रूपमा जम्मा हुने जोखिम उच्च रहेको चिकित्सकहरूको भनाइ छ।

    स्वास्थ्य विज्ञहरूका अनुसार सिसा शरीरमा प्रवेश गरेपछि रगतमार्फत मस्तिष्क, मिर्गौला र स्नायु प्रणालीसम्म पुग्न सक्छ। लामो समयसम्म सिसाको सम्पर्कमा रहँदा मानिसमा गम्भीर दीर्घकालीन रोगहरू देखा पर्न सक्छन्।

    बालबालिकामा सबैभन्दा बढी खतरा

    चिकित्सक सङ्घले बालबालिकामा सिसाको प्रभाव अझ खतरनाक हुने उल्लेख गर्दै वैज्ञानिक प्रमाणका आधारमा यस्ता असर देखिन सक्ने जनाएको छः

    • बौद्धिक विकासमा अवरोध

    • सिकाइ क्षमता कमजोर हुनु

    • व्यवहारिक समस्या र मानसिक असन्तुलन

    • दीर्घकालीन रूपमा दृष्टि कमजोर हुनु

    • श्रवण क्षमतामा ह्रास

    • स्नायु प्रणालीमा गम्भीर क्षति

    विशेषज्ञहरूका अनुसार बालबालिकाको शरीर सानो र संवेदनशील हुने भएकाले सिसाको मात्रा सानो भए पनि त्यसले दीर्घकालीन प्रभाव पार्न सक्छ।

    वयस्कमा पनि क्यान्सरदेखि मिर्गौला बिग्रनेसम्म जोखिम

    सिसा अत्यधिक मात्रा शरीरमा जम्मा हुँदा वयस्कहरूमा पनि गम्भीर समस्या उत्पन्न हुनसक्ने चिकित्सकहरूको चेतावनी छ। समयमै नियन्त्रण नगरे निम्न स्वास्थ्य समस्या बढ्न सक्ने बताइएको छः

    • मिर्गौला कमजोर हुनु (Kidney Damage)

    • उच्च रक्तचाप

    • हर्मोन प्रणालीमा गडबडी

    • गर्भवती महिलामा गर्भमा असर र शिशुको विकासमा समस्या

    • दीर्घकालीन रूपमा क्यान्सरको सम्भावना समेत बढ्न सक्ने जोखिम

    चिकित्सक सङ्घको सरकारलाई आग्रह

    नेपाल चिकित्सक सङ्घले सरकारले तत्कालः

    • बजारमा बिक्री हुने टुथपेष्ट तथा सौन्दर्य सामग्रीको गुणस्तर परीक्षण

    • उत्पादन तथा आयात अनुमतिमा कडाइ

    • प्रयोगशाला परीक्षणको दायरा विस्तार

    • जनचेतना कार्यक्रम सञ्चालन

    • दोषी कम्पनी/आपूर्तिकर्तामाथि कडा कारबाही

    लगायतका कदम चाल्नुपर्ने माग गरेको छ।

    चिकित्सक सङ्घले दैनिक प्रयोग हुने सामग्रीबाटै जनस्वास्थ्य संकट उत्पन्न हुन सक्ने भएकाले अब ढिलाइ नगरी कडा नियमन र नियमित अनुगमन आवश्यक रहेको निष्कर्ष निकालेको छ।

    प्रकाशित : शनिबार, २४ माघ २०८२ , १०:३९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend