logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

बालेन्द्र शाह (बालेन) बस्दै आएको डेरामा चोरी गर्ने तीन जना पक्राउ

बालेन्द्र शाह (बालेन) बस्दै आएको डेरामा चोरी गर्ने तीन जना पक्राउ


  • आइतबार, माघ २५ २०८२
  • 819
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बस्दै आएको डेरामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरी उनीहरूबाट चोरीका सामान समेत बरामद गरेको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

    प्रवक्ता भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगढी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।

    प्रहरीका अनुसार उनीहरूले चप्पल कारखाना क्षेत्रमा सितादेवी गुरुङको घरमा रहेको बालेन शाहको डेरा कोठामा चोरी गरेका थिए ।

    मुख्य आरोपी राजवाहक बाँसबारीबाट पक्राउ

    चोरीमा मुख्य भूमिका रहेको बताइएका विष्णुबहादुर राजवाहकलाई प्रहरीले २३ माघमा बाँसबारीबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार राजवाहक यसअघि पनि चोरी तथा अन्य साधारण अपराधमा मुद्दा चलेका व्यक्ति हुन् । उनीविरुद्ध २४ जेठ २०७२ मा प्रहरी वृत्त कालिमाटीबाट साधारण अपराधमा र ८ असार २०७२ मा प्रहरी वृत्त महाराजगञ्जबाट चोरीको कसुरमा मुद्दा चलेको भेटिएको छ ।

    साधारण लेखपढ गर्न जान्ने तथा पेन्टरको काम गर्दै आएका राजवाहकले बालेनको डेरामा चोरी गरेको स्वीकार गरेको एसपी भट्टराईले बताए ।

    प्रहरीका अनुसार उनी चोरीकै कसुरमा ३ वर्ष ६ महिना कैद भुक्तान गरिरहेका बेला २४ भदौमा ‘जेनजी आन्दोलन’को क्रममा नख्खु कारागारबाट फरार भएका थिए ।

    कारागारबाट फरार भएपछि उनी पाँच वटा चोरी घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले निर्माणाधीन घरहरूबाट धारा, टुटी तथा अन्य घरबाट चाँदीका गिलास, कचौरा, दियो र प्लेट चोरी गरेको बताइएको छ ।

    गेष्ट हाउसको कोठाबाट राउटर र सीसीक्यामेरा बरामद

    प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ स्थित ‘क्लासिक एण्ड लज इन गेष्ट हाउस’को कोठा नम्बर ४०२ मा बस्दै आएका राजवाहकको कोठाबाट ‘वर्ल्ड लिंक’ लेखिएको राउटर र दुई थान सीसीक्यामेरा बरामद गरिएको छ ।

    त्यस्तै उनको साथबाट ‘एक्रोन गोल्ड’ लेखिएको निलो बिँड भएको पिलास, सलाई रेन्ची, रेती, स्क्रु तथा कालो रंगको ज्याकेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

    खड्का बैंकिङ कसुरका फरार अभियुक्त

    प्रहरीले अर्का आरोपी खिमबहादुर खड्कालाई २४ माघमा जडिबुटीबाट पक्राउ गरेको हो । उनी बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति रहेको खुलेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनीविरुद्ध ११ मंसिर २०७९ मा प्रहरी वृत्त बौद्धबाट मुद्दा चलेको थियो । कक्षा ८ सम्म अध्ययन गरेका खड्का बालुवा डिपो सञ्चालन गर्दै आएका थिए ।

    प्रहरीका अनुसार राजवाहकले चोरी गरेका सामानहरू खड्काले बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूबीच घर निर्माणसम्बन्धी काम गर्ने क्रममा करिब ८ वर्षदेखि चिनजान रहेको बताइएको छ ।

    खड्काको भक्तपुर ठिमी नगरपालिका–दुवाकोटस्थित घरबाट प्रहरीले चाँदीका थाली, कचौरा, रिङ, नटबोल्ट लगायतका सामग्री बरामद गरेको छ । साथै सुनजस्तो देखिने लक्ष्मीको मूर्ति भएको झुम्का, चन्द्रमा, सिक्री, बालाजस्ता सामग्री पनि फेला परेको प्रहरीले जनाएको छ ।

    सञ्जय श्रेष्ठ बालाजुबाट पक्राउ

    तेस्रो आरोपी सञ्जय श्रेष्ठलाई प्रहरीले २४ माघमै बालाजुबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार उनीविरुद्ध २९ कात्तिक २०६४ मा प्रहरी वृत्त बौद्धबाट जबरजस्ती करणीको कसुरमा मुद्दा चलेको देखिएको छ । कक्षा १० सम्म अध्ययन गरेका श्रेष्ठ खेतीकिसानी गर्ने व्यक्ति हुन् ।

    प्रहरीले रामेछाप कारागारमा रहँदा राजवाहक र श्रेष्ठबीच चिनजान भएको जनाएको छ । अनुसन्धानका क्रममा श्रेष्ठले दुई थान ल्यापटप डिकमा राखी राजवाहकलाई ८ हजार रुपैयाँ दिएको खुलेको छ ।

    धादिङ धुनीबेशी नगरपालिका–७ लप्सेस्थित उनको कोठाबाट प्रहरीले झोला, डेलको ल्यापटप, म्याकबुक प्रो, चार्जर तथा डीभीआर बरामद गरेको जनाएको छ ।

    अनुसन्धान जारी

    प्रहरीले चोरी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र बरामद सामग्रीको विस्तृत विवरण संकलन गर्दै कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

    प्रकाशित : आइतबार, २५ माघ २०८२ , ०४:२२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend