logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल

आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल

आज (बिहीबार) इटालीसँग प्रतिस्पर्धा गर्दै


  • बिहिबार, माघ २९ २०८२
  • 1.1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज (बिहीबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै विश्वकपमा पहिलो अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रन लागेको हो ।

    नेपाल र इटालीबीचको खेल भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुनेछ । इंग्ल्यान्डविरुद्ध १८५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमा सीमित भएपछि ऐतिहासिक जितबाट चार रनले वञ्चित भएको थियो ।

    भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणका चारै खेल नेपालले भारतमै खेल्दैछ । अहिलेसम्म विश्वकपमा जितविहीन रहेको नेपालले इटालीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्य लिएको छ ।

    नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकपमार्फत पहिलोपटक सहभागिता जनाएको थियो । त्यसपछि १० वर्षको अन्तरालमा नेपाल दोस्रोपटक विश्वकप खेलिरहेको छ । सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति बलियो बनाएको थियो । विशेषगरी दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको स्मरणीय खेल अझै चर्चामा छ ।

    हालसम्म दुईपटक विश्वकप खेले पनि नेपाल समूह चरणभन्दा माथि उक्लिन सकेको छैन । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपाल लगातार दोस्रो विश्वकप खेलिरहेको छ भने सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

    समूह ‘सी’मा रहेको नेपालसँगै दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन् । बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी वरीयताका आधारमा स्कटल्यान्डले स्थान पाएको हो ।

    नेपालले आजको खेल जित्दै विश्वकप अभियानलाई नयाँ ऊर्जा दिने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

    प्रकाशित : बिहिबार, २९ माघ २०८२ , ०९:१९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend