लोकसारथि संवाददाता, बुटवल।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशील खड्का विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार भीम श्रीसलाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार खड्काले २० हजार ९२७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका श्रीसले ११ हजार ९४४ मत प्राप्त गरेका छन्। यसरी खड्काले श्रीसलाई ८ हजार ९८३ मतान्तरले पराजित गरेका हुन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार हिरा केसीले ८ हजार ६४० मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारीले ४ हजार ५२१ मत प्राप्त गरेका छन्।
सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माका अनुसार यस निर्वाचन क्षेत्रमा कुल ९८ हजार ४६ मतदाता रहेका थिए। तीमध्ये ४९ हजार २४२ मत खसेको थियो। मतगणना शुक्रबार दिउँसो अबेरबाट सुरु भएको थियो।
यस परिणामलाई बागलुङ–१ मा देखिएको नयाँ राजनीतिक प्रवृत्तिको संकेतका रूपमा पनि हेरिएको छ। परम्परागत रूपमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने मानिएको यस क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी हुनु स्थानीय राजनीतिक समीकरणमा आएको परिवर्तनको संकेत मानिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
विशेषगरी नयाँ राजनीतिक विकल्पप्रति बढ्दो आकर्षण तथा मतदाताको बदलिँदो मनोविज्ञानका कारण यसपटक बागलुङ–१ मा फरक परिणाम देखिएको विश्लेषण गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
