लोकसारथि संवाददाता, बुटवल।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर–५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र (बालेन) शाहले विशाल मतान्तरसहित विजय हासिल गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी ओली भने १८ हजार ७३४ मतमा सीमित भएका छन्। यसरी शाहले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ तेस्रो स्थानमा रहेका छन्। उनले ९ हजार २३३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार मंधरा चिमरिया चौथो स्थानमा रहँदै १ हजार ८२१ मत प्राप्त गरेकी छन्।
झापा–५ लामो समयदेखि एमाले अध्यक्ष ओलीको प्रभाव क्षेत्र मानिँदै आएको थियो। उनी यस क्षेत्रबाट पटक–पटक निर्वाचित हुँदै आएका थिए। तर यसपटकको निर्वाचन परिणामले स्थानीय मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत ठूलो तरंग उत्पन्न गरेको छ।
बालेन्द्र शाह भने पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन्। काठमाडौं महानगरपालिकाको मेयरका रूपमा चर्चित बनेका शाहले प्रतिनिधिसभा निर्वाचन घोषणा भएपछि मेयर पदबाट राजीनामा दिएर संसदीय यात्रामा प्रवेश गरेका थिए।
निर्वाचन प्रचारप्रसारका क्रममा रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीको सम्भावित अनुहारका रूपमा प्रस्तुत गर्दै अभियान चलाएको थियो। विशेषगरी युवापुस्ता, वैकल्पिक राजनीतिक सोच भएका मतदाता तथा सुशासनको अपेक्षा राख्ने नागरिकबीच शाहको लोकप्रियता उल्लेखनीय रूपमा बढेको देखिएको विश्लेषण गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार झापा–५ को यो परिणामलाई परम्परागत राजनीतिक शक्तिमाथि नयाँ राजनीतिक शक्तिको चुनौतीका रूपमा हेरिएको छ। लामो समयदेखि स्थापित नेतामाथि नयाँ पुस्ताका उम्मेदवारले प्राप्त गरेको यस्तो ठूलो विजयले नेपाली राजनीतिमा बदलिँदो मतदाता मनोविज्ञान स्पष्ट रूपमा देखाएको उनीहरूको भनाइ छ।
यस परिणामलाई आगामी दिनमा नेपालको राजनीतिक समीकरण, नेतृत्व परिवर्तनको बहस तथा भविष्यको राजनीतिक दिशातर्फ महत्वपूर्ण संकेतका रूपमा समेत हेरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
