लोकसारथि संवाददाता, काठमाडौं ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल) को आर्थिक योगदानबारे अध्ययन गर्न विस्तृत सर्वेक्षणको तयारी गरेको छ।
कार्यालयका निर्देशक तीर्थराज बराल का अनुसार देशभरिका निजी तथा सामुदायिक अस्पतालहरूले मुलुकको कुल गार्हस्थ उत्पादन (GDP) मा कति योगदान पुर्याएका छन् भन्ने तथ्य पत्ता लगाउन सर्वेक्षण सञ्चालन गर्न लागिएको हो।
उनले आगामी वैशाखदेखि असार मसान्तसम्म देशभरका अस्पतालबाट तथ्याङ्क सङ्कलन गर्ने योजना रहेको बताए। “अहिले सर्वेक्षणका लागि कर्मचारी करारमा लिने छनोट प्रक्रिया भइरहेको छ,” उनले भने, “छनोट भएका कर्मचारीलाई तालिम दिएपछि उनीहरूलाई अस्पतालहरूमा पठाएर तथ्याङ्क सङ्कलन गरिनेछ।”
बरालका अनुसार सर्वेक्षणमार्फत अस्पतालहरूको आर्थिक अवस्था, स्वास्थ्य क्षेत्रमा सिर्जना भएको रोजगारीको सङ्ख्या, सेवा विस्तार तथा अन्य आर्थिक गतिविधिसम्बन्धी विस्तृत तथ्याङ्क सङ्कलन गरिनेछ।
राष्ट्रिय तथ्याङ्क कार्यालय ले प्रत्येक १० वर्षमा निजी स्वास्थ्य संस्थाको सर्वेक्षण गर्ने योजना भए पनि केही वर्ष ढिलाइ भएको निर्देशक बरालले बताए।
यसअघि सन् २०१३ मा गरिएको सर्वेक्षणमा निजी स्वास्थ्य संस्थाको मुलुकको कुल गार्हस्थ उत्पादनमा योगदान एक प्रतिशतभन्दा कम रहेको देखिएको थियो। त्यतिबेला देशभरका करिब १०० अस्पतालमा मात्रै सर्वेक्षण गरिएको थियो।
यसपटक भने देशभरिका दुई हजार ५५१ अस्पताललाई समेटेर सर्वेक्षण गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ। यसबाट निजी स्वास्थ्य क्षेत्रको आर्थिक योगदानबारे अद्यावधिक तथ्याङ्क प्राप्त हुने अपेक्षा गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
