लोकसारथि संवाददाता, काठमाडौं ।
जेठ १७ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त अभिव्यक्तिले राष्ट्रिय हित, परराष्ट्र नीति तथा नेपालको कूटनीतिक अडानसँग सम्बन्धित प्रश्नहरू उठाएको दाबी गरेको छ।
विज्ञप्तिमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूका अभिव्यक्ति संविधान, राष्ट्रिय हित तथा कूटनीतिक मर्यादाअनुसार हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि असर पार्न सक्ने दाबी गरिएको छ।
जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीमाथि कानुनी अनुसन्धान गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको जनाएको छ।
संगठनले देशभरका नागरिकलाई आफ्नो धारणा सार्वजनिक गर्न तथा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शनमा सहभागी हुन समेत आह्वान गरेको छ।
विज्ञप्तिमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा देशको राष्ट्रियता, भूभाग तथा आन्तरिक स्थिरतामा चुनौती उत्पन्न हुन सक्ने दाबी गरिएको छ। साथै संगठनले विभिन्न घटनामा प्रधानमन्त्रीको संलग्नता रहेको आरोपसमेत लगाएको छ। यद्यपि ती आरोपहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
सुरक्षा निकायलाई सम्भावित असहज परिस्थितिप्रति सचेत रहन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ।
उक्त विज्ञप्तिमा जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहको हस्ताक्षर रहेको छ।
यस विषयमा प्रधानमन्त्री कार्यालय वा सम्बन्धित सरकारी निकायको प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन।

-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
