logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

ईभी भन्सार प्रकरणमा अर्थमन्त्रीविरुद्ध फैलाइएका अफवाहप्रति सचिवालयको आपत्ति

ईभी भन्सार प्रकरणमा अर्थमन्त्रीविरुद्ध फैलाइएका अफवाहप्रति सचिवालयको आपत्ति


  • शनिबार, जेष्ठ २३ २०८३
  • 858
    SHARES

    लोकनाथ शर्मा, बुटवल ।

    बजेट घोषणा हुन केही दिनअघि विभिन्न भन्सार नाकाबाट विद्युतीय सवारीसाधन (ईभी) को जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जोड्दै सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलाइएका अफवाह र चरित्रहत्याको प्रयासप्रति अर्थमन्त्रीको सचिवालयले गम्भीर आपत्ति जनाएको छ।

    अर्थमन्त्रीका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा रसुवागढी भन्सार नाकामा भन्सार बिन्दुमै नआएका सवारीसाधनको जाँचपास भएको भनिएको विषयमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले अनुसन्धान गरिरहेको उल्लेख गरिएको छ।

    विज्ञप्तिअनुसार जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाई भन्सार विभागमा तानिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको मन्त्रालयले जनाएको छ।

    त्यस्तै मुस्ताङको कोरला नाकाबाट जाँचपास भएका विद्युतीय सवारीसाधन सम्बन्धी विषयमा पनि मन्त्रालयद्वारा गठित छानबिन समितिले स्थलगत अनुसन्धान अघि बढाइरहेको जानकारी दिइएको छ। मन्त्रालय र भन्सार विभागका उपसचिवहरूको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसमेत सहभागी अनुसन्धान टोली फिल्डमै खटिएको विज्ञप्तिमा उल्लेख छ।

    प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार छलीको आशङ्कामा केही सवारीसाधन र आयातकर्ता कम्पनीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको तथा यसको विस्तृत विवरण उपयुक्त समयमा सार्वजनिक गरिने जनाइएको छ।

    सचिवालयले विज्ञप्तिमार्फत तथ्य पुष्टि नगरी अर्थमन्त्री तथा मन्त्रालयलाई जोडेर समाचार सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यस्तो कार्यमा संलग्न केही व्यक्तिमाथि कानुनी उपचारको प्रक्रिया सुरु भइसकेको छ भने केहीमाथि कानुनी उपचार खोज्ने प्रक्रिया अगाडि बढाइएको छ।”

    साथै अर्थतन्त्र, बजेट, भन्सार तथा राजस्व प्रशासनजस्ता प्राविधिक विषयमा समाचार तयार पार्दा सम्बन्धित जिम्मेवार निकायसँग सत्यतथ्य बुझेर मात्र सामग्री प्रकाशन गर्न सचिवालयले सञ्चारमाध्यम तथा सरोकारवाला पक्षसँग अनुरोध गरेको छ।

    प्रकाशित : शनिबार, २३ जेष्ठ २०८३ , ०३:३८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend