logo

बुधबार, १३ साउन २०८३

बुधबार, साउन १३ २०८३

साइकल —मेरो जीवनको संघर्ष, सपना र सम्झनाको साक्षी

साइकल —मेरो जीवनको संघर्ष, सपना र सम्झनाको साक्षी


  • मंगलबार, साउन १२ २०८३
  • 468
    SHARES

    वि.सं. २०४८/४९ सालतिर, गुल्मी पुर्तिघाट, जीवनोद्धार माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण भएर बुटवल क्याम्पस पढ्न जाँदाको त्यो दिन सम्झँदा, मन अझै भरिन्छ । पहिलो पटक पहाडदेखि सहरमा पढ्न झरेको छोरा, यो सहरले कतै खुसी दिन्थ्यो त कतै पीडा । अरू साथीहरू प्रायः मोटरसाइकलमा हुइँकिरहेका हुन्थे, मलाई पनि केही चढ्ने इच्छा जाग्यो । बाबालाई बिन्ती बिसाएपछि सात सयको नयाँ हिरो साइकल किनेँ र त्यही चढेर क्याम्पस जान्थेँ र तत्पश्चात् धागो कारखानामा जागिर गर्न साइकल कुदाउँथेँ । त्यो बेला बाबाले दिएको सात सय रुपैयाँको साइकल, यसले मलाई एउटा छुट्टै आनन्द दिन्थ्यो र अद्भुत आत्मविश्वास दिन्थ्यो।

    विद्यार्थी जीवन बिन्दास चलिरहेको थियो। समय रमाइलो गरेरै बितिरहेको थियो। आर्थिक अभावले कताकता भित्रभित्रै पिरोलिरहन्थ्यो। त्यतिबेलाको एकदमै चलेको र प्रायः नेपालीको गन्तव्य मानिने भारतीय सेनामा जागिर खाने हुन्थ्यो र मेरो मन पनि त्यतैतिर लाग्यो। म अपुरो गन्तव्यतिर लागेँ र सोचेअनुसार सेनामा भर्ती पनि भएँ। तत्पश्चात् अनेकौँ उतारचढाव र कडा अनुशासनभित्र रहेर तालिम र दैनिक अफिसियल कार्यको बाबजुद पनि अधुरो अध्ययनलाई निरन्तरता दिँदै स्नातकोत्तरसम्मको यात्रा तय गरियो। कर्तव्य, अधिकार, अनुशासन, मेहनत र अनौठो जिज्ञासाले मनमा केही नयाँ गर्ने हुटहुटी भइरहन्थ्यो। सर्भिस पनि विभिन्न कोर्स, तालिम र अध्ययनमै बित्यो। केही इच्छाहरू पूरा भए भने केही हुन सकेनन्, नसकेकाप्रति पनि कत्ति पनि पछुतो रहेन र छैन। रिटायर्ड भएपछि संसार घुम्ने रहर जाग्यो। भाग्यले संसारका ५६ देश घुम्ने मौका जु¥यो भने सौभाग्यले नानीबाबुको अध्ययन र जागिरको व्यवस्थापनको जिम्मेवारी सफलतापूर्वक पूरा गरियो। अहोभाग्य यो पनि थियो कि, सोचेजस्तो स्थानमा आफ्नो कल्पनाको महल बनाउन, कार किनेर वृद्ध आमालाई घुमाउन परिवारको खुसीमा सामेल हुन भाग्यले साथ दियो। जब सबै सुविधासम्पन्नताको स्थितिमा हामी थियौँ, त्यतिबेला बाबाको कमीले पिरोलिरहन्थ्यो र अहिले पनि पिरोलिरहन्छ। अर्कोतर्फ दुनियाँ मात्र होइन, आफ्नैले दिएको आत्मसम्मानमाथिको चोटले पनि पिरोलिरहन्थ्यो भने ती सबैलाई बेवास्ता गरेर आफ्नै दुनियाँमा रमाउने बानी पनि परिसकेको थियो। आफ्नै संसार, आफ्नै दुनियाँ, आफ्नै परिवार सर्वोच्च र खुसीसाथ चलिनै रहेको थियो। तर अचानक एकदिन मन अतीततिर र कलेजमा हुँदा हुइँकिने त्यही साइकलतिर गयो, जुन कलेज पढ्दा ३० को स्पिडमा कुदेको बाइकसँग कम्पिटिसन गरिन्थ्यो। मनमा कहीँ कतै साइकलको रहरले घचघचाइरह्यो। मलाई कलेजको स्मरणले फेरि थुप्रै गियर भएको आधुनिक र नयाँ साइकल किन्ने र कलेजमा चलाएको हिरो साइकलजस्तै कुद्ने इच्छा जाग्यो। घरमा बुलेट बाइक थियो, स्कुटी थियो, लाखौँको लक्जरी सुविधासम्पन्न कार थियो। तर पनि त्यो अतीतले मलाई बोलाइरह्यो, एकोहोरो बोलाइरह्यो। अन्ततः पुरानो यादलाई ताजा गर्ने उद्देश्यका साथ नयाँ र आधुनिक साइकल किनियो र बिस्तारै अतीतलाई याद गर्दै साइकल हुइँकाउँदै बुटवल बहुमुखी क्याम्पसतर्फ लागियो। गेटबाट भित्र पसेँ। जहाँ विद्यार्थी कालमा साइकल राख्थेँ, त्यहीँ लगेर राखेँ। चौपारीमा बसेँ, चारैतिर नियालेँ। त्यहाँ न थमन गाहा थिए, न श्रीप्रसाद पराजुली थिए, न दधिराम ढकाल, न गणेश ढकाल, न नारायण बलाल, न कोपिला, न राधिका, न दीपक, कोही थिएनन्। पहिला भलिबल खेल्ने ग्राउन्डतिर नियालेँ। केही अपरिचित भाइहरू खेल्दै थिए। मैले विगत सम्झिएँ, सर्ट हानेको, डिफेन्स खेलेको आदि आदि। भित्र कलेज नियालेँ। पहिलाभन्दा धेरै फरक तर अलि कम, त्यस्तै लगभग उस्तै बेन्च, उस्तै टेबल तर ब्ल्याकबोर्ड सेतो भएछ। चकको ठाउँमा बोर्ड मार्कर पेनले लेखेर पढाउँदै गरेको देखेँ। अफिस नियालेँ, चौर अनि लक्ष्मीनगर डेरा गरी बस्ने हरि क्षेत्रीको घर नियालेँ, कोठा नियालेँ। आज पनि विद्यार्थी नै बस्दा रहेछन्। कोठाले याद दिलायो, श्रीप्रसादले ल्याएको घ्यूमा अनदी चामलको खाजा बनाएर खुसी हुँदै खाएको, खेलेको आदि आदि। धेरैबेर चौपारीमा बसेर टोलाइरहेको देखेर पछाडिबाट काँधमा ड्याम्म धाम मार्दै “लोकनाथ सर“ भनेको आवाजले झस्किएँ। म विगतमा रमाउँदै थिएँ। यसैगरी क्लासमेटहरूले धाम मारेको याद आयो। तर उनी मेरा क्लासमेट थिएनन्। उनी त सोही कलेजका लेक्चरर डाक्टर चिरन देवकोटा थिए, जो वर्तमानमा सोही कलेजमा अध्यापन कार्यमा नियुक्त छन् भने मेरा आत्मीय मित्र र सँगै खेल्ने ब्याडमिन्टन खेलाडी पनि हुन्। एकछिनको भलाकुसारीपश्चात् म त्यहाँबाट हिँडेँ।

    बाटोमा आउँदै गर्दा आजसम्मका मैले हासिल गरेका साधनमध्ये सबैभन्दा धेरै खुसी त्यही नयाँ साइकलले दियो। किनकि त्यो साइकलले सम्पन्नता होइन, संघर्ष सम्झायो। सुख होइन, दुःखको बेलामा गरेको मेहनत सम्झायो। त्यति मात्र होइन, आफन्तको अनुहार देखायो, पराइको सहयोग देखायो। बाबाले “तलाई हिँड्न दुःख होला, साइकल किनेस्’’ भनेर आसकोटको भित्री खल्तिबाट निकालेर दिएको सात सयको याद आयो। आमाले इमिचौरसम्म छोड्न आउँदा “झरीमा भिज्लास्, लु यही छाता लिएर जा’’ भनेको सम्झनाले झस्कायो। कान्छाबाले “एक–एक चम्चा भातमा हालेर खाएस्’’ भनेर प्लास्टिकको बोतलमा सुटुक्क लुकाएर दिएको घ्यूको याद आयो। बर्से बिदामा आली लगाएर कमाएको पैसाले कपडा किनेर मेला हेर्न गएको स्मृति पटलमा ताजा भयो। “तैले SLC मा Ist Division मात्र होइन, गुल्मी नै टप गरिस्। I.Sc. पढेस् है।MBBS गर्नु पर्छ, डाक्टर बन्नुपर्छ ।’’ भन्दै प्रेरणा दिनुभएका नि.मा.वि.का हेडसर शशिधर भण्डारीज्यूको अनुहार स्मृतिपटलमा झलझली उत्रियोे । अहिले उहाँ मेरो छिमेकी हुनुहुन्छ । स्कुलकै वार्षिक उत्सवमा बाबाको ज्योतिषी र दुग्ध व्यवसायलाई नाटकीय नेगेटिभ परिकल्पना गरेर कलिलो मनमा चोट पु¥याएका रघुनाथ, मोहन, जनक श्रेष्ठहरूको याद आयो। आफ्नाको ताली, गाली, फाली, हलो, जुवा सबैको याद ताजा भयो। यो साइकलले धेरै विगतलाई ताजा बनायो। अझ साँच्चै भन्नुपर्दा धन, मन र सम्पत्तिको औकात देखायो। आज पनि जब म साइकल चढ्छु, लाग्छ जीवनको सबैभन्दा सुन्दर यात्रा गन्तव्यमा पुग्नु होइन, बरु संघर्षका ती पलहरूलाई सम्झेर मुस्कुराउनुमा रहेछ । खुसी वस्तुको मूल्यमा होइन, सम्झनामा हुँदोरहेछ । यी विगतमा भोगेका, अनुभव गरेका, देखेका सपनाहरूका मिठा सम्झनामा हुँदोरहेछ । आखिर जीवन चेतनामा कैद भएको एक सम्झना हो । केही कुरा पाएको, केही गुमाएको, रमाएको, उदासिएको लगायतका मिश्रित घटनाहरुको सम्झनाले निर्मित समष्टि रुप नै जीवन रहेछ !

    प्रकाशित : मंगलबार, १२ साउन २०८३ , ०४:११ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend