logo

बुधबार, १३ साउन २०८३

बुधबार, साउन १३ २०८३

गृह र रक्षामन्त्रीमा काबिल नेतृत्व नियुक्त गरेर सम्भावित दुर्घटना रोकौँ : रवि किरण हमाल

गृह र रक्षामन्त्रीमा काबिल नेतृत्व नियुक्त गरेर सम्भावित दुर्घटना रोकौँ : रवि किरण हमाल


  • मंगलबार, साउन १२ २०८३
  • 182
    SHARES

    काठमाडौं ।

    एक सार्वजनिक धारणा जारी गर्दै हमालले पूर्वी तराईको सुरक्षा अवस्था नियन्त्रणभन्दा बाहिर जाने संकेत देखिन थालेको दाबी गरेका छन्। उनले सरकारले परिस्थितिको गम्भीरतालाई आवश्यक रूपमा मूल्याङ्कन गर्न नसकेको आरोप लगाउँदै आन्तरिक सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा नेतृत्व गर्ने व्यक्तिहरूमा अनुभव, दूरदृष्टि तथा संकट व्यवस्थापन क्षमताको अभाव देखिएको टिप्पणी गरेका छन्।

    उनका अनुसार अयोग्य र कमजोर नेतृत्वका कारण देश अस्थिरता तथा गम्भीर सुरक्षा संकटतर्फ धकेलिन सक्ने जोखिम बढ्दै गएको छ। सरकारले समयमै आवश्यक कदम चाल्न नसके त्यसको सम्पूर्ण राजनीतिक तथा नैतिक जिम्मेवारी सरकारले नै लिनुपर्ने उनको चेतावनी छ।

    “त्यतिबेलासम्म अवस्था भयावह भइसकेको हुन सक्छ,” हमालले उल्लेख गरेका छन्।

    सर्वदलीय राष्ट्रिय संवादको प्रस्ताव

    हमालले मुलुकको वर्तमान सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै तत्काल सर्वपक्षीय तथा सर्वदलीय राष्ट्रिय संवाद सुरु गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै गृह मन्त्रालय र रक्षा मन्त्रालयको नेतृत्व सक्षम, अनुभवी र परिणाममुखी व्यक्तिलाई सुम्पिन सरकारसँग आग्रह गरेका छन्।

    आवश्यक परे संसदबाहिर रहेका योग्य र दक्ष व्यक्तिलाई समेत जिम्मेवारी दिएर राष्ट्रिय सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन सकिने उनको धारणा छ।

    “राष्ट्रिय सुरक्षा भागबण्डाको विषय होइन”

    राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयलाई राजनीतिक भागबण्डा वा प्रयोगको क्षेत्र बनाउन नहुने हमालको भनाइ छ।

    “राष्ट्रको सुरक्षा कुनै राजनीतिक भागबण्डा गर्ने विषय होइन, न त अनुभवहीन व्यक्तिको अभ्यास गर्ने थलो हो,” उनले भनेका छन्।

    बदलिँदो सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्न स्पष्ट रणनीति, सक्षम नेतृत्व तथा समयानुकूल निर्णय अपरिहार्य रहेको उनको जोड छ।

    सरकारलाई समयमै निर्णय लिन आग्रह

    हमालले सरकारले समयमै आवश्यक राजनीतिक निर्णय लिन नसके भविष्यमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। वर्तमान नेतृत्वले राष्ट्रिय सुरक्षाका सवालमा ढिलासुस्ती गरे इतिहासले त्यसलाई क्षमा नगर्ने उनको भनाइ छ।

    उनले सरकारलाई राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै सुरक्षा संयन्त्रलाई प्रभावकारी, सक्षम र विश्वसनीय बनाउन तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

    प्रकाशित : मंगलबार, १२ साउन २०८३ , ०५:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend