नेपालकाे इतिहासमै यति अभूतपूर्व जनमतबाट बनेकाे लाेकप्रिय सरकार अत्यन्तै दुर्लभ र ऐतिहासिक छ १५ सालकाे अपवादबाहेक। याे सरकार कुनै नाै नाै महिनामा , एक एक वर्षमा, दुई दुई वर्षमा कुनै दलकाे बहुमत नहुँदा गर्नुपर्ने गठजाेड , गठबन्धन वा महागठबन्धनबाट बनेकै हाेइन। सरकार जाेगाउनकै लागि अनेक राजनीतिक पार्टीका चित्त सिलाउन, हित्त मिलाउन र दलगत राजनीतिक इन्ट्रेस्ट पूरा गर्न चाहिने नचाहिने सम्झाैता, समझदारीमा अल्झिनुपर्ने बाध्यताबाट मुक्त सरकार हाे। अझ भनाैँ,याे सरकार चुनावपूर्व आम नेपाली जनमानसले यही संविधानभित्रकाे निर्वाचन प्रणालीमा दुईतिहाइ त के बहुमत पनि असम्भव छ भनेर ठानेकाे पूर्वानुमानलाई फेल खुवाइदिएर बनेकाे सरकार हाे।अभूतपूर्व जनमतले सजिएकाे सरकार एकमना एकताका साथ बनेकाे एकल सरकार हाे। यस सरकारले विधिकाे बाटाेबाट गर्न चाहेका हरेक काम विनाअवराेध निर्धक्क गर्न सक्छ।कुनै छेकबार र बन्धन छैन। याे सरकार असफल बन्ने छुट छँदै छैन किनकि पुराना पार्टीप्रतिकाे चरम असन्तुष्टिलाई भजाएर गरिएकाे जेन्जीकाे रगतकाे आहालबाट नाटकीय ढङ्गले उदाएकाे अनाैठाे सरकार हाे,याे।
पुराना सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै आम नेपालीका मनमा कुनै ठेस नलाग्ने गरी, भुँइतहदेखिका जनताकाे विश्वास आर्जन गर्ने गरी, सरकारकाे नेतृत्वमा रहेका कतिपय अतिशय रहस्यमयी पात्रका संशय निवारण हुने गरी,भविष्यका लागि समेत विकास निर्माण र सुशासनका लागि नवीन मानक र नजिर स्थापित गर्ने मार्गबाट अगाडि बढ्नु यसकाे अभीष्ट र गन्तव्य हुनुपर्दछ भन्ने मान्यता आम जनतामा थियाे। सरकार गठनका केही महिनाकाे कार्यशैली र प्रारम्भिक क्रियाकलाप हेर्दा सरकार यति छिटै रक्षात्मक किन बन्न थालेकाे छ? प्रधानमन्त्री केवल जनताका दुःखमा भेटिनुकाे सट्टा फेसबुबका भित्तामा बर्करार देखिन्छन् , जुन बिडम्बनापूर्ण छ। सुशासनका नारा दिएर उदाए पनि मन्त्री राज्यमन्त्री सरहकाे सुविधासहित जम्बाे सल्लाहकारकाे लावालस्कर सिर्जना गरेकाे, करका दर हेरफेर र चुहावट गरी सयाैँ इभी भित्राएकाे, विश्वविद्यालय, संस्थान र न्यायालयकाे नयाँ नियुक्तिमा प्रक्रियागत परम्परा लत्याएकाे,सुकुम्बासीलाई उचित व्यवस्थापन बिना अमानवीय ढङ्गले लावारिस बनाएकाे, सामान्य गरिखाने वर्गका मानिसलाई आत्मदाह गर्न बाध्य बनाउने कार्य यही सरकारले सिर्जना गरेका समस्या हुन्।
गृहमन्त्रीलाई बिचाैलियासँगकाे साँठगाँठबाट छानबिनकाे नाटक गरी चाेख्याएर प्रतिवेदन नै सार्वजनिक नगरी पुनःनियुक्त गरेकाे, प्रमले नेपालले भारतकाे भूमि मिचेकाे छ भनी हाकाहाकी आफ्नै देशका विरुद्ध गर्जेकाे, नयाँ सिक्कामा चुच्चे नक्सा हटाउन चलखेल गरेकाे,सांसदलाई पिए नियुक्तिकाे अनुमति दिएकाे,पेट्रोलियम पदार्थमा अचाक्ली मूल्यवृद्धि गरेकाे, बिजुलीमा सहुलियतपूर्ण राहातकाे सट्टा भ्याट लगाएकाे, मधेसमा धार्मिक विद्वेष फैलिँदा नियन्त्रण गर्न नसकेकाे र युवाहरूलाई कम्मरमाथि गाेली ठाेकेर मारेकाे,भ्रष्टाचारकाे नियन्त्रणका नाममा बिनाप्रमाण कानुनी राजकाे धज्जी उडाउँदै पूर्वाग्रही ढङ्गले धरपकट गरेकाे,६२/६३ देखि यताका सार्वजनिक पद धारण गरेकालाई छानबिनको दायरामा राखी अनुसन्धान थाल्नु उचित भए पनि पारदर्शिताकाे वकालत गर्ने वर्तमानको सत्ताधारी राजनीतिक नेतृत्व छानबिनबाट उम्किन खाेजेकाे,फेसबुकमा सेवाप्रवाहकाे व्यापक हल्ला चले पनि सर्बर डाउन हुने समस्याले सेवाग्राही आजित बनेकाे,राहदानी घरमै आउने १०० दिने कार्यसूची राखे पनि राहादानी विभागमै सेवाग्राहीकाे थेग्नै नसक्ने भिड यथावत् रहेकाे, किसानले समयमै मल पाउन नसक्ने समस्या यथावत् रहेकाे, विद्युत् प्रवाह नियमित नरहेकाे, विदेशी ऋण लिनु गलत हाे भन्दै विराेध गर्ने अर्थमन्त्रीले नेपालीका थाप्लामा अर्बाैँकाे ऋण थाेपर्दै गएकाे, सरकार विरुद्ध बाेल्दा जेल चलान भएकाे, TOB का शङ्कास्पद चलखेललाई संरक्षण गरेकाे कुराले सरकार जटिलतामा फस्दै गएकाे देखिन्छ ।
प्रधानमन्त्री जनताप्रति र संसदप्रति जवाफदेही, उत्तरदायी नहुनु र हुकुमी शैली अवलम्बन गर्नु जस्ता यी विविध दृश्यले जनतामा पुनः वर्तमान सरकारप्रति चाैतर्फी रूपमा चरम असन्तुष्टि चुलिन थालेकाे छ। याे सरकार नै कतै असन्तुष्टिकै काेपभाजनमा पर्ने हाे कि भन्ने अनिष्टकाे सङ्केत हाे। वास्तवमा हिजाे पुराना पार्टीहरूलाई गलत सावित गरी आशाकाे महल सिर्जना गर्न जुन सपना बाँडियाे र नयाँ सरकारले चुड्कीका भरमा सबका सब समस्या हल गर्छ भन्ने भ्रमका साथ जुन भाष्य खडा गरियाे यही अपरिपक्वताले वर्तमान सरकारलाई खेद्न सुरु गरिसकेकाे छ। देशकाे गरिमामय प्रधानमन्त्री पद र सत्ताकाे नेतृत्व गरेर आम भावनाअनुरूप काम गर्नु कठिन र चुनाैतीपूर्ण कार्य हाे । याे प्रधानमन्त्री पद भावनात्मक,आवेग उत्तेजना र उरेन्ठेउलाे पाराले सम्पादन हुने कार्य र पदीय हैसियत हाेइन। हिजाे पनि प्रधानमन्त्रीकाे वरिपरिकाे घेराले राज्यसञ्चालन गर्ने तरिका र तज्बिजीले समस्या निम्त्याएकाे थियाे र आज पनि उहीँ प्रवृत्तिकाे पुनराेदय हुँदै छ । उही पुरानै प्रवृत्ति र कार्यशैलीले यसरी कसरी नयाँ हुन सक्छ? प्रश्न सरकारसामु चाैतर्फी ढङ्गले तेर्सिएका छन्, सरकार गठनकै छाेटाे समयमा प्रश्नैप्रश्नकाे घेरामा उभिएकाे छ। पुराना त सच्चिनु पर्ने या सक्किनु पर्ने स्थितिकाे डिलैमा उभिएका छन् भने नयाँ पनि आफ्नो कार्यशैलीमा सुधार नगरे त्यही दिशामा अग्रसर हुने छन्। सबैले बेलैमा चेतुन्।
प्रकाशित :
बिहिबार, १४ साउन २०८३ , ०७:२२ बेलुका
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित न्युज
ताजा अपडेट
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
