logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

खोटाङको कफी बेलायत पठाउन दिक्तेलमा हुर्काइँदै १७ लाख बिरुवा

खोटाङको कफी बेलायत पठाउन दिक्तेलमा हुर्काइँदै १७ लाख बिरुवा


  • शनिबार, पुष २७ २०८१
  • 1.3K
    SHARES

    लोकसारथि, २७ पुस, रुपन्देही । खोटाङमा उत्पादित कफी बेलायत पठाउने लक्ष्य सहित दिक्तेल रुपाकोटा मझुवागढी नगरपालिकाले १७ लाख विरुवा हुर्काइरहेको छ।

    बिहानदेखि अबेर साँझसम्म खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ स्थित नेर्पामा चहलपहल हुन्छ। स्थानीय बासिन्दासँगै स्थानीय सरकारका प्रतिनिधि र कर्मचारीको आवतजावत भइराख्छ। अझ कृषि प्राविधिक पनि ओहोरदोहोर गरिराख्छन्।

    यसको कारण हो, नेर्पामा हुर्किँदै गरेका १२ लाख कफीका विरुवा। नरपालिकाले स्थानीय कृषकलाई वितरण गर्न नेपालमा कफीका विरुवा हुर्काइरहेको छ। “कफी खेतीको माध्यमबाट रोजगार सिर्जना र पुँजी निर्माणका लागि बेर्ना उत्पादन शुरू गरेका छौं,” उपमेयर बिसन राई भन्छन्।

    नेर्पाजस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ स्थित बुईपामा पनि कफीका विरुवा हुर्किँदै छन्। बुईपामा कफीका पाँच लाख विरुवा छन्। स्थानीय सरकारले दुवै ठाउँमा बेर्ना बनाएर कफीका १७ लाख विरुवा हुर्काइरहेको छ।

    बेलायतको टेराम्रिदा कम्पनीले नगरपालिकालाई कफीका बिउ निःशुल्क उपलब्ध गराएको थियो। पाँच महीनाअघि छरेको बिउबाट अहिले विरुवा बनिसकेका छन्। दुवै ठाउँको नर्सरीमा सय जना कामदार खटिँदै आएका छन्।

    यी विरुवा अबको एक वर्षपछि स्थानीय किसानलाई विरतण गरिनेछ। किसानको पनि अपनत्व हुने गरी थोरै शुल्कमा कफीका विरुवा वितरण गरिने उपमेयर राई बताउँछन्।

    बेलायती कम्पनीले निःशुल्क बिउ उपलब्ध गराएको भए पनि नर्सरी भने स्थानीय सरकारले स्थापना गरेको हो। जग्गा, पाईप, बालुवा, पोलिब्याग, ग्रिननेट, श्रमिक लगायत व्यवस्थापन गरेर अहिलेसम्म २० लाख रुपैयाँ खर्च भइसकेको सकेको उनी बताउँछन्। खेतमा लगाउन मिल्ने हुँदासम्म १७ लाख विरुवामा दुई करोडदेखि साढे दुई करोड रुपैयाँसम्म खर्च हुने आँकलन छ।

    नर्सरीमा उमारिएको कफीको बेर्ना १५ महीनादेखि १८ महीना पुगेपछि किसानलाई बाँड्ने तयारी छ। किसानको २५ जनाको समूह बनाएर कर्फीको बेर्ना वितरण गर्ने योजना छ। व्यक्तिगत रुपमा बिरुवा चाहिने किसानलाई पनि बेर्ना उपलव्ध गराइने नगरपालिकाका कृषि प्रसार अधिकृत तेजप्रकाश जैसी बताउँछन्।

    कफीको व्यावसायिक खेतीका लागि आगामी आर्थिक वर्षमा कफी प्रशोधन केन्द्र बनाउने गरी अध्ययन भइरहेको छ। दिक्तेलमा उत्पादन भएको कफी स्थानीय बजारसँगै देशका अन्य शहरमा बिक्री गर्ने योजना छ। नेपालमा खपत नभएको कफी बेलायत पठाइने भएको छ। “प्रशोधन गर्दा त नेपालमै खपत भइहाल्छ,” उपमेयर राई भन्छन्, “कतिपय कफी प्रशोधन नगरी सिधै बेलायत पठाउने छौं। त्यसका लागि टेराम्रिदा कम्पनीसँग सम्झौता भइसकेको छ। ”
    कृषि प्रसार अधिकृत जैसीका अनुसार समुद्री सतहबाट ८०० देखि एक हजार ६०० मिटरको उचाइमा कफी खेती उपयुक्त मानिन्छ। यसअनुसार दिक्तेलको सोल्मा, नेर्पा, दोर्पाचिउरीडाँडा र निर्मलीडाँडामा कफी खेतीको राम्रो सम्भावना देखिएको छ। स्थानीय सरकारको अध्ययन अनुसार, नगरपालिका क्षेत्रभित्र कफीको एक करोड २० लाख विरुवा लगाउने सकिने क्षेत्र रहेको जैसी बताउँछन्।

    केही वर्षदेखि नगरपालिकामा कफी खेती हुँदै आएको छ। गत वर्ष नगरपालिकाले ४२ हजार ४२० वटा विरुवा खरीद गरेर किसानलाई बाँडेको थियो। त्यसमा नौ लाख १२ हजार ३० रुपैयाँ लागेको थियो।

    त्यसले किसानमा कफीप्रति आकर्षण बढाएको छ। यस वर्ष पनि नगरपालिकाले कोशी प्रदेश सरकारबाट कफी प्रवद्र्धन कार्यक्रम अन्तर्गत पाएको १५ लाख बजेटले कफीका विरुवा खरीद गर्ने योजना रहेको उपमेयर राई बताउँछन्। त्यो विरुवा पनि किसानलाई प्रदान गरिनेछ।

    अर्को वर्षदेखि अन्यत्रबाट खरीद गर्न नपरोस् भनेर नर्सरी नै बनाएको उनको भनाइ छ। कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष १२ करोड रुपैयाँ भित्रिने आकलन छ। “कफी खेतीको माध्यमबाट नागरिकलाई रोजगार बनाउने योजना छ,” उनी भन्छन्, “उत्पादन भएको कफी प्रशोधन गर्न प्रशोधन केन्द्र बनाउँछौं। प्रशोधन गर्न नसकिएको कफी बेलायत पुग्छ। बजारको चिन्ता हुँदैन।”

    प्रकाशित : शनिबार, २७ पुष २०८१ , ०८:३२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend