logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

तातोपानी कुण्डको संरक्षण आवश्यक: अध्यक्ष प्रचण्ड

तातोपानी कुण्डको संरक्षण आवश्यक: अध्यक्ष प्रचण्ड


  • मंगलबार, माघ २२ २०८१
  • 416
    SHARES

    लोकसारथि, माघ २२, २०८१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्राकृतिक उपचार केन्द्रका रूपमा प्रसिद्ध तातोपानी कुण्डको संरक्षणमा जोड दिएका छन्। बेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म विहानी पैदल यात्रा गर्दै प्रचण्डले कुण्डको ऐतिहासिक र प्राकृतिक महत्वलाई ध्यानमा राखेर संरक्षण आवश्यक रहेको बताएका हुन्।

    प्राकृतिक चिकित्सालयको रूपमा परिचित तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायतका रोगमा लाभ हुने विश्वास गरिएको छ। अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वमा रहेको सरकारका बेला कुण्ड संरक्षणका लागि तटबन्ध निर्माणलाई प्राथमिकता दिइएको र आवश्यक बजेट समेत विनियोजन गरिएको जानकारी दिए। “यो योजना बहुवर्षीय टेन्डरमा गएकोले तटबन्ध निर्माण सुनिश्चित भएको छ,” उनले स्पष्ट पारे।

    अध्यक्ष प्रचण्डले केही वर्षअघि केही मन्त्रीहरुसहित कुण्डको निरीक्षण गरेको र त्यस क्रममा यहाँको प्रचारप्रसारसमेत भएको स्मरण गरे। अहिलेको दोस्रो भ्रमणका क्रममा तातोपानीका नयाँ मुहानहरू फेला परेको र प्राविधिक संरचनामा सुधार देख्दा खुसी लागेको बताए।

    उनले म्याग्दी जिल्लाको विकासमा सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै बेनी–ढोरपाटन सडक निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिए। “खोलाको सतह अझ गहिरिन नपाओस् भनेर स्थानीयवासीले राखेको चेकड्याम निर्माणको प्रस्तावप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछौं,” प्रचण्डले भने।

    भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले स्थानीयवासीहरूसँग अन्तर्क्रिया गर्दै तातोपानी कुण्डको संरक्षण र म्याग्दीको समग्र विकासका लागि सहकार्यमा लाग्न आग्रह गरेका छन्।

    प्रकाशित : मंगलबार, २२ माघ २०८१ , ०७:०७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend