logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

आज भीमा एकादशी व्रत, यस्तो छ यसको महत्त्व

आज भीमा एकादशी व्रत, यस्तो छ यसको महत्त्व


  • शनिबार, माघ २६ २०८१
  • 988
    SHARES

    काठमाडौं, माघ २६ । माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज देशभर भगवान् विष्णुको पूजा आराधना र व्रत गरी धूमधामसँग मनाइँदैछ। भीमा अथवा जयासमेत भनिने यस एकादशी व्रतले कार्यक्षमता, मानसिक सामर्थ्य र शक्ति वृद्धि गर्ने, आयु बढाउने तथा आत्मिक उन्नतिमा शीघ्रता ल्याउने विश्वास गरिन्छ।

    पद्मपुराणमा एकादशी व्रतका फाइदाबारे उल्लेख गर्दै भनिएको छ:

    “स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी ।
    कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी ।।”

    यस श्लोकमा एकादशीलाई स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या तथा सुपुत्र प्रदान गर्ने उत्तम व्रतको रूपमा चित्रण गरिएको छ। शास्त्रमा गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्रजस्ता पुण्यक्षेत्रको महिमा गाइन्छ, तर यी सबैभन्दा पनि हरि दिवस अर्थात् एकादशीको महत्व बढी रहेको उल्लेख गरिएको छ।

    कूर्मपुराणमा भनिएको छ:

    “व्रतोपवासैर्नियमैः होमैः, ब्राह्मणतर्पणैः
    तेषां वै रूद्रसायुज्यं, जायते तत्प्रसादतः ।”

    यस अनुसार व्रतोपवासले शिवसायुज्यको प्राप्ति हुन्छ। श्रीमद्भगवद्गीतामा भगवान श्रीकृष्णले यज्ञ, दान र तप जस्ता कर्महरूको परित्याग गर्न नहुने शिक्षा दिएका छन्। शास्त्रमा तप अन्तर्गत व्रतको विधान गरिएको छ र एकादशीलाई श्रेष्ठतम व्रत मानिएको छ।

    एकादशी व्रतको प्रारम्भबारे पद्मपुराणमा उल्लेख छ कि धर्मराज युधिष्ठिरलाई भगवान् श्रीकृष्णले समस्त दुःख र त्रिविध तापबाट मुक्ति दिलाउन, हजारौँ यज्ञको बराबरी गर्ने एकादशी व्रत लिन सुझाव दिएका थिए।

    एकादशीको लागि दशमीको दिन हातगोडाको नङ सफा गरेर स्नान गरी हविस्य भोजन गर्नु पर्दछ। एकादशीको दिन ब्रह्म मुहूर्तमा उठेर “जया नाम्नीती विख्याता सर्व पापहरा परा” मन्त्रको जप गर्नुपर्छ। यसले श्राप हटाउने विश्वास गरिन्छ।

    नित्यकर्म सकेर स्नान, प्राणायाम, पवित्र कुशको औँठी धारण, तिलक धारण गरी लक्ष्मीनारायण, माधवनारायण भगवान्को सेवा र पूजा गर्नुपर्छ। दिनभर कथा श्रवण, सत्संग गर्दै उपवास बसेर बेलुका सन्ध्या जप गर्नुपर्छ। रातभर दीपमालिका बालेर भजन, कीर्तन गर्दै जाग्राम बस्नुपर्नेछ। भोलिपल्ट गोदान र ब्राह्मण दम्पतीलाई इच्छा भोजन गराउनु पर्दछ। यसरी व्रत गर्ने व्यक्तिलाई पिशाचत्वबाट छुटकारा मिल्ने विश्वास गरिन्छ।

    पण्डित बालमुकुन्द देवकोटाका अनुसार, माघ शुक्ल एकादशीलाई जया अथवा भीमा एकादशी भनिन्छ र यस व्रतले व्यक्ति भूत, प्रेत, पिशाचजस्ता नीच योनिबाट मुक्त हुने शास्त्रीय मान्यता छ।

    भीमा एकादशी व्रतले आत्मिक शुद्धि र मोक्ष प्राप्तिमा विशेष योगदान पुर्‍याउने धार्मिक विश्वासले गर्दा भक्तजनहरू आजको दिन विशेष श्रद्धा र भक्ति भावले पूजा आराधनामा समर्पित हुने गर्छन्।

    प्रकाशित : शनिबार, २६ माघ २०८१ , ०१:३० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend