लोकसारथि, २४ फागुन । तिलोत्तमा-८, सूर्यपुरास्थित विन्ध्यवासिनी त्रिदेवी मन्दिरमा बिहीबारदेखि जारी महायज्ञमा भक्तजनको आकर्षण दिनप्रतिदिन बढ्दो छ। शनिबार विशेष रूपमा ठूलो संख्यामा भक्तजन उपस्थित भएका छन्।
महायज्ञ आयोजक मूल समितिका सह सचिव रेशम पाण्डेका अनुसार सयौंको संख्यामा भक्तजनको सहभागिता रहेको छ भने हालसम्म लाखौं रुपैयाँको दान संकलन भइसकेको छ।
श्रीमद् देवी भागवत महापुराण एवम् तण्डुलाचल ज्ञान महायज्ञअन्तर्गत शुक्रबार प्रमुख वाचक आचार्य चैतन्यकृष्ण प्रभूले भक्तजनलाई आत्मसन्तुष्टि र परलोकमा देवधाम प्राप्तिका लागि प्रेरित गर्नुभएको थियो।
महायज्ञका क्रममा हरेक दिन बिहान ५ बजेदेखि योग तथा ध्यान, दिनको ११ बजेदेखि कथा प्रवचन र साँझमा श्रृंगारिक महाआरती सञ्चालन भइरहेको मूल समितिका सचिव कृष्ण तिवारीले जानकारी दिनुभयो।
यसैबीच, चौरासी पूजा, लक्ष्यवर्ती प्रज्ज्वलन लगायतका विशेष धार्मिक अनुष्ठानहरूका लागि लामो सूची तयार भइसकेको आयोजक समितिले जनाएको छ। महायज्ञको धार्मिक तथा सांस्कृतिक महत्वका कारण यसमा स्थानीय तथा बाहिरी क्षेत्रका भक्तजनको उत्साहजनक सहभागिता देखिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
