logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

सम्पदा संरक्षणका लागि जनचेतना फैलाउँदै विश्व सम्पदा दिवस मनाइँदै

सम्पदा संरक्षणका लागि जनचेतना फैलाउँदै विश्व सम्पदा दिवस मनाइँदै


  • शुक्रबार, बैशाख ५ २०८२
  • 962
    SHARES

    लोकसारथि, ५ वैशाख । सम्पदाको संरक्षण र महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आज (अप्रिल १८) विश्वभर विश्व सम्पदा दिवस मनाइँदै छ। नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ।

    संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत विश्व सम्पदाको संरक्षणका लागि सन् १९८३ देखि प्रत्येक वर्ष यो दिवस मनाउने चलन चल्दै आएको हो। विश्व सम्पदामा सूचीकृत क्षेत्रमा नेपालबाट काठमाडौं उपत्यकाभित्र वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, साथै लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज समावेश छन्।

    राजधानीमा पदयात्रा कार्यक्रम

    यस अवसरमा आज बिहान राजधानीमा विशेष सम्पदा पदयात्रा आयोजना गरिएको छ। पदयात्रा स्वयम्भूको भुइँखेलबाट सुरु भई हनुमानढोका दरबार क्षेत्रमा पुगेर समापन हुने पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले जानकारी दिए।

    पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको विशेष उपस्थिति रहनेछ। साथै संस्कृतिकर्मी, विद्यार्थी, सरोकारवाला निकाय तथा विभिन्न सांस्कृतिक संस्थाहरूको सहभागिता रहने विभागले जनाएको छ।
    कार्यक्रमको आयोजना पुरातत्व विभाग, काठमाडौं महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा संघ र बागमती प्रदेश हस्तकला संघले संयुक्त रूपमा गरेका हुन्।

    पूर्वाधार निर्माणमा अब ‘सम्पदा प्रभाव मूल्याङ्कन’ अनिवार्य

    सम्पदाको संरक्षणका लागि हालसालै सरकारले नयाँ नीति लागू गरेको छ। अबदेखि सम्पदास्थल नजिक पूर्वाधार निर्माण गर्दा ‘सम्पदा प्रभाव मूल्याङ्कन (HIA)’ अनिवार्य गरिएको छ।

    अघिल्लो व्यवस्थामा केवल वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) अनिवार्य थियो। तर, सम्पदामा प्रत्यक्ष असर पर्ने पूर्वाधार विकासले ऐतिहासिक स्थलहरूमा क्षति पुर्‍याउन थालेपछि सरकारले दुई वर्षअघि विशेष सम्पदा प्रभाव मूल्याङ्कन कार्यविधि तयार गरी लागू गरेको हो।

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार, “यो कार्यविधिको आधारमा तालिमप्राप्त जनशक्तिबाट अहिले सम्पदामा प्रभाव मूल्याङ्कनको काम सुरु भइसकेको छ।”

    प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा पनि यो विषयलाई समावेश गर्दै संशोधन प्रक्रिया अगाडि बढाइएको छ। तर, संशोधनमा समय लाग्ने भएकाले मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत गरी तत्काल लागू गरिएको विभागले जनाएको छ।

    कार्यविधि अनुसार सम्पदास्थल नजिक कुनै पनि किसिमको पूर्वाधार निर्माण गर्नुअघि सम्पदा प्रभाव मूल्याङ्कनको प्रतिवेदन पेस गर्नुपर्नेछ, जसले नेपाली सम्पदाको दीर्घकालीन संरक्षणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    प्रकाशित : शुक्रबार, ५ बैशाख २०८२ , ०७:५९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend