लोकसारथि संवाददाता, काठमाडौं ।
मुस्लिम समुदायको दोस्रो महत्वपूर्ण पर्व ईद-उल-अज्हा (बकरिद) को अवसरमा कपिलवस्तु जिल्लाका चार पालिकाले आइतबार स्थानीय बिदा घोषणा गरेका छन्।
महाराजगञ्ज नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै बकरिदको अवसरमा आइतबार सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्था बन्द रहने जनाएका हुन्। यद्यपि, आकस्मिक सेवा भने सञ्चालनमा रहने जनाइएको छ।
यद्यपि बकरिद पर्व शनिबार परेको भए पनि मुस्लिम धर्मगुरु तथा अगुवाहरूको अनुसार यो पर्व तीन दिनसम्म मनाइने परम्परा अनुसार आइतबार बिदा दिने निर्णय गरिएको पालिकाहरूले स्पष्ट पारेका छन्।
महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी, मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दीन मुसलमान र यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीको संयुक्त हस्ताक्षरसहित सार्वजनिक गरिएको सूचनामा बिदा सम्बन्धी निर्णय उल्लेख गरिएको छ।
कपिलवस्तुमा मुस्लिम समुदायको जनसंख्या उल्लेख्य छ। यसैले धार्मिक सद्भाव र सांस्कृतिक सम्मानस्वरूप स्थानीय तहहरूले बकरिदको अवसरमा बिदा दिने निर्णय गरेका हुन्।
बकरिद (ईद-उल-अज्हा) इस्लाम धर्म अनुसार त्याग, समर्पण र कुरबानीको पर्व हो, जुन इब्राहिम पैगम्बरले आफ्नो छोराको बलि दिने भावनात्मक घटनाको सम्झनामा मनाइन्छ। यो पर्वमा जनावरको बलि दिइने, नमाज पढिने र गरिब तथा असहायहरूलाई मासु बाँड्ने परम्परा रहेको छ।
यस बिदाले कपिलवस्तु जिल्लामा धार्मिक सहिष्णुता, विविधताको सम्मान र सामाजिक समरसताको सन्देश प्रवाह गरेको छ।

-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
