लोकसारथि संवाददाता, काठमाडौं ।
काठमाडौंको हनुमानढोका दरबारस्थित दशैँघरमा आज गोरखाबाट फूलपाती भित्र्याइएको छ। विजयादशमीको सातौँ दिन अर्थात् फूलपातीका दिन हरेक वर्ष झैँ यसपालि पनि परम्परागत विधिअनुसार फूलपाती भित्र्याउने चलन निरन्तर गरिएको हो।
ऐतिहासिक रूपमा गोरखा राज्यबाट काठमाडौं प्रवेश गरी हनुमानढोकासम्म ल्याइने फूलपातीलाई राष्ट्रिय एकता र धार्मिक आस्थाको प्रतीक मानिन्छ। प्रचलनअनुसार गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर समुदायका छ जना व्यक्तिले फूलपाती ल्याउँछन् भने त्यहाँबाट काठमाडौंको जमलसम्म ब्राह्मण समुदायका छ जनाले ल्याउने परम्परा रहँदै आएको छ।
जमलदेखि हनुमानढोकासम्म फूलपाती भित्र्याउने क्रममा निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा तथा विविध सांस्कृतिक नाचगानसहितको भव्य जुलुस सहभागी हुन्छ। यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरी बलको विशेष टोली र मंगल धुन गाउने मङ्गलिनी समूहको समेत सहभागिता रहेको थियो।
नासलचोकमा विधिपूर्वक पूजा गरी, मूलचोकमा बलिसहित पूजा सम्पन्न गरेपछि दशैँघरमा फूलपाती भित्र्याइएको हो।
फूलपातीलाई दशैँघरमा भित्र्याउने परम्परा राजसंस्थासँग गहिरो सम्बन्धित भए पनि गणतन्त्र आएपछि पनि संस्कृतिक परम्परा जस्ताको तस्तै निरन्तरता दिइएको छ। हरेक वर्ष फूलपाती अवलोकनका लागि स्थानीय र विदेशी पर्यटकको ठूलो भीडसमेत लाग्ने गर्छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
