logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

यस वर्ष भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे

यस वर्ष भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे


  • मंगलबार, असोज २८ २०८२
  • 1.5K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सो समयलाई भाइटीकाको शुभ मुहूर्त मानिएको हो।

    समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार, कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन कुनै बाधा छैन, तर साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तका कारण बिहान ११ः३९ बजेको समयलाई सबैभन्दा शुभ ठहर गरिएको हो।
    उनले भने, “राज्य सञ्चालक वा परम्परागत रूपमा साइतमै टीका लगाउनेहरूका लागि यो समय उत्तम हो, तर सर्वसाधारणका लागि मध्याह्नकालमै टीका लगाउन कुनै आपत्ति छैन।”

    तिहारको सुरु यमपञ्चकदेखि

    समितिले दिएको जानकारीअनुसार यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। सोही दिनदेखि यमदीपदान, धनत्रयोदशी र धनतेरस पर्व पनि मनाइनेछ।

    • कात्तिक २ गते आइतबार — काग तिहार र धनवन्तरी जयन्ती

    • कात्तिक ३ गते सोमबार — बिहान नरक स्नान, कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा तथा दीपमालिका

    • कात्तिक ४ गते मंगलबार — औँसी तिथिको स्नान र दान

    • कात्तिक ५ गते बुधबार — गाई, गोरु तथा आत्म (म्ह) पूजा

    • कात्तिक ६ गते बिहीबार — भाइटीका (किजा पूजा)

    समितिले दिएको विवरणअनुसार, कात्तिक ३ गते सोमबार दिउँसो २ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा साँझमा गर्नुपर्ने शास्त्रीय वचन छ। औँसी तिथिमा गरिने स्नान र दान भने अर्को दिन बिहान गर्नुपर्नेछ।

    नेपाल संवत् ११४६ को नयाँ वर्ष पनि सोही दिन

    समितिले स्वीकृति दिएका तीन पात्रो (पञ्चाङ्ग) का अनुसार, नेपाल संवत् ११४६ पनि यसै वर्ष कात्तिक ५ गते बुधबारदेखि सुरु हुनेछ।
    ‘कृत्यवाटिका’ ग्रन्थका अनुसार, कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने भएकाले सोही दिन नेवार समुदायले आत्मपूजा गर्नेछन्।

    भ्रातृपूजा – दाजुभाइ दुवैको प्रतीक

    शास्त्रीय दृष्टिले भाइटीकालाई ‘भ्रातृपूजा’ भनिएको छ, जसको अर्थ दाजुभाइ दुवैलाई टीकाटाला लगाउने हो। समितिले ज्येष्ठताको क्रम अनुसार टीका लगाउने परम्परा शास्त्रसम्मत भएको जनाएको छ।

    तिहारको धार्मिक अर्थ

    यमपञ्चक पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ। यस अवधिमा यमदीपदान गरेर यमलोकका पीडाबाट मुक्ति पाइने विश्वास छ। साथै, काग र कुकुरलाई यमदूतका प्रतीक मानी मीठा परिकार खुवाउने परम्परा वैदिक धर्मअनुसार चलिआएको हो।

    प्रकाशित : मंगलबार, २८ असोज २०८२ , ०१:४३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend