लोकसारथि संवाददाता, काठमाडौं ।
तीन स्कटिस दाजुभाइले १३९ दिनमै प्रशान्त महासागरलाई अविराम डुंगा चलाएर पार गर्दै इतिहास रचेका छन्। उनीहरूले संसारको सबैभन्दा ठूलो महासागरलाई अहिलेसम्मकै सबैभन्दा छोटो समयमा, बिना समर्थन, निरन्तर डुंगा चलाई पार गर्ने कीर्तिमान कायम गरेका हुन्।
एउआन (Ewan), जेमी (Jamie) र लाख्लान (Lachlan) म्याक्लिन (Maclean) नामका यी दाजुभाइहरूले पेरुबाट अष्ट्रेलिया सम्म ९,००० माइल यात्रा गर्दै दक्षिण अमेरिकाबाट प्रशान्त महासागर पार गर्ने पहिलो टोलीको रुपमा पनि रेकर्ड बनाए।
जोखिमपूर्ण यात्रा
ताजा माछा र फ्रीज–ड्राइड खाना खाँदै उनीहरूले समुद्री रोग, खाद्य संकट र उष्णकटिबन्धीय आँधीसहितका चुनौती पार गरे। एकपटक त लाख्लान ठूलो छालले डुङ्गाबाट राति समुद्रमा फ्याँकिएको थियो, जसलाई भाइ एउआनले उद्धार गरेका थिए।
करिब साढे चार महिनापछि शनिबार बिहान उनीहरू आफ्नै बनाएको एफ–१ शैलीको कार्बन फाइबर डुङ्गा ‘Rose Emily’ लिएर अष्ट्रेलियाको भूमिमा पाइला टेरे। यससँगै उनीहरूले २०१४ मा रसियाली साहसी फेदोर कोन्युखोभले (Fedor Konyukhov) चिलीबाट अष्ट्रेलिया एक्लै डुंगा चलाएर राखेको कीर्तिमान तोडे।
किनारमा उत्रँदा उनीहरूले बागपाइप बजाउँदै स्कटल्याण्ड, अष्ट्रेलिया र बेलायतका झण्डा फहराए। परिवारजनसहित आमा सिलालाई देख्दा उनीहरू भावुक बने। एउआनले अष्ट्रेलियाको सार्वजनिक सञ्चारमाध्यम एबीसीसँग कुरा गर्दै भने, “हामी अझै पनि समुद्री खुट्टा लिएर हिँडेजस्तो छ, तर जमीनमा आइपुगेकोमा निकै खुसी छौं।”
डुङ्गा किनार पुग्नुअघि उनले इन्स्टाग्राममा भिडियो अपलोड गर्दै मजाकमा भनेका थिए, “के तपाईंहरूसँग पिज्जा र बियर छ? पुनः भन्छु, पिज्जा र बियर छ?”
आँधी र निराशा
यी दाजुभाइले गत अप्रिल महिनामा पेरुको राजधानी लिमाबाट यात्रा शुरु गरेका थिए। उनीहरूको प्रारम्भिक लक्ष्य अगस्ट २ भित्र सिड्नी पुग्ने थियो। तर लगातार खराब मौसमका कारण उनीहरू क्याइर्न्स (Cairns) मोडिन बाध्य भए।
जेमीले भने, “अन्तिम केही हप्ताहरू निकै कठिन भए। हामीले छिट्टै किनार पुग्छौं भन्ने अपेक्षा गरेका थियौं तर आँधीपछाडि आँधीले हाम्रा सबै योजना बिगार्यो।”
लाख्लानलाई समुद्रले डुङ्गाबाट उछिट्याएको घटना उनीहरूका लागि सबैभन्दा डर लाग्दो क्षण थियो। उनले भने, “अचानक ठूलो छाल आयो, मसँग प्रतिक्रिया दिन केही सेकेन्ड मात्र थियो। म उल्टो सल्टो खाँदै पानीमा खसेँ।”
दाजुभाइबीचको एकता
एउआन, जेमी र लाख्लानले आफ्नो दाजुभाइबीचको गहिरो सम्बन्धले नै उनीहरूलाई लक्ष्यसम्म पुर्याएको विश्वास गर्छन्। “हामी एकअर्कासँग प्रत्यक्ष र स्पष्ट बोल्छौं। राम्रो सञ्चार नै सफलताको कुञ्जी हो,” जेमीले बताए।
‘Rose Emily’ नामको उनीहरूको डुङ्गा गर्भावस्थामा गुमाएकी बहिनीको सम्झनामा नामकरण गरिएको हो। यो डुङ्गा महासागर डुंगाबाजीका दिग्गज मार्क स्लाट्ससँग मिलेर निर्माण गरिएको हो र विश्वकै सबैभन्दा हल्का र द्रुत गतिमा चल्ने डुङ्गा मानिएको छ।
प्रेरणा र सामाजिक उद्देश्य
म्याक्लिन दाजुभाइहरूले यो महासागर यात्रा केवल विश्व कीर्तिमानकै लागि होइन, माडागास्करमा खानेपानी परियोजनामा सहयोग जुटाउने लक्ष्यसहित सुरु गरेका थिए।
सन् २०२० मा तिनीहरूले अटलान्टिक महासागर पार गर्दै ३ विश्व रेकर्ड बनाएका थिए — ३,००० माइलको यात्रा ३५ दिनमा सम्पन्न गर्दै भाइहरूको पहिलो टोली, सबैभन्दा कम उमेरको टोली र सबैभन्दा छिटो यात्रा गर्ने टोलीको रूपमा।
तर उनीहरूलाई अझ ठूलो चुनौती लिनु आवश्यक छ भन्ने लागेर यसपटक प्रशान्त महासागर रोजे। उनीहरूको ‘The Maclean Foundation’ नामक गैरनाफामुखी संस्थाले माडागास्करमा पानीका धारा र बोरहोल निर्माणमार्फत ४०,००० भन्दा बढी मानिसलाई स्वच्छ पानी उपलब्ध गराउने अभियान चलाइरहेको छ। हाल त्यहाँ केवल १४% जनसंख्या मात्र सुरक्षित खानेपानी पाउँछन्।
एउआनले सीएनएनसँग भनेका थिए, “हाम्रो यात्रा अरू मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न हो। कठिन क्षणहरूमा सहयोग र सन्देशले हामीलाई हौस्याएको छ।”
अहिलेसम्म उनीहरूले १० लाख पाउन्ड (£१ million) उठाउने लक्ष्य राखेका मध्ये ८ लाख ५० हजार ८५९ पाउन्ड (£850,859) अर्थात् करिब १.१५ मिलियन अमेरिकी डलर संकलन भइसकेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
