logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सूडान: मस्जिदमा ड्रोन आक्रमण, ७५ जनाको मृत्यु

सूडान: मस्जिदमा ड्रोन आक्रमण, ७५ जनाको मृत्यु


  • शुक्रबार, असोज ३ २०८२
  • 858
    SHARES

    काठमाडौं  । अफ्रिकी मुलुक सूडानको उत्तरी दारफुरको राजधानी अल फशरमा शुक्रबार तड्के भएको ड्रोन आक्रमणले ठूलो जनधनी क्षति पुर्‍याएको छ । अर्धसैनिक संगठन र्‍यापिड सपोर्ट फोर्सेस (RSF) ले नमाज चलिरहेको बेला मस्जिदलाई लक्षित गरी आक्रमण गर्दा कम्तीमा ७५ जनाको मृत्यु भएको छ । मृतकमध्ये बालबालिका र वृद्धबृद्धासमेत रहेका सूडान डक्टर्स नेटवर्कले जनाएको छ ।

    उक्त चिकित्सक संगठनले यो आक्रमणलाई निहत्था नागरिकमाथिको जघन्य अपराध भन्दै मानवता, धर्म र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन भएको टिप्पणी गरेको छ ।

    RSF को दाबी र भिडियो सार्वजनिक
    अल फशरस्थित ‘द रेसिस्टेन्स कमिटीज’ नामक समूहले सामाजिक सञ्जालमार्फत एउटा भिडियो सार्वजनिक गरेको छ जसमा मस्जिदका केही भाग ध्वस्त देखिन्छन् भने धेरै शवहरू मैदानमा देखिएका छन् । यद्यपि, सो भिडियोको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ । मस्जिदको ठ्याक्कै स्थानबारे स्पष्ट जानकारी नआए पनि यो आक्रमण पछिल्ला हप्ताहरूमा भइरहेका निरन्तर आक्रमणमध्ये एक भएको बताइएको छ ।

    सूडानमा सन् २०२३ अप्रिलदेखि सरकारी सेना र RSFबीचको द्वन्द्व गृहयुद्धमा परिणत भइसकेको छ । विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, गृहयुद्ध सुरु भएयता कम्तीमा ४० हजार मानिसले ज्यान गुमाएका छन्, १ करोड २० लाखभन्दा बढी विस्थापित भएका छन् र लाखौं मानिस भोकमरीको संघारमा पुगेका छन् ।

    नागरिकमाथि सीधा आक्रमण
    गुरुवारसम्म लडाइँ प्रायः देशका पश्चिमी र दक्षिणी भागमा सीमित भए पनि शुक्रबार RSF ले प्रत्यक्ष नागरिकमाथि आक्रमण सुरु गरेको छ । दारफुर विक्टिम्स सपोर्ट अर्गनाइजेशनले स्थानियले ठूलो विस्फोट र आकाशमा ड्रोन उडिरहेको देखेको बताएका छन् ।

    रेसिस्टेन्स कमिटीजका अनुसार, RSF ले महिलाहरू, वृद्धहरू र शिविरमा बस्दै आएका विस्थापितहरूलाई समेत लक्ष्य बनाएर आक्रमण गरेको छ ।

    सूडान लामो समयदेखि राजनीतिक अस्थिरता र अर्धसैनिक संगठनहरूको हिंसात्मक गतिविधिबाट जर्जर छ । हालको घटना देखाउँछ कि स्थिति कति भयावह बनिसकेको छ र यसको सबैभन्दा ठूलो शिकार आम नागरिकहरू बनेका छन् ।

    प्रकाशित : शुक्रबार, ३ असोज २०८२ , ०७:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend